वीरगन्ज,पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियामाथि आक्रमणको प्रयास भएको छ ।
शनिबार कार्यालयको काम विशेषले सदरमुकाम वीरगन्ज निस्किनुभएका अध्यक्ष चौरसियामाथि पकहामैनपुर गाउँपालिका वडा नंम्बर २ मधुवनीस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय नजिकैको मुख्य सडकमा युवाहरुको एक समूहले गाडी रोकेर किन गाडी चलाएको भन्दै आक्रमणको प्रयास गरेको अध्यक्ष चौरसियाले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार कार्यालयको काम विशेषले र सञ्चारकर्मीहरुसँग छलफलको लागि वीरगन्ज आउने क्रममा आफू बसेको गाडीलाई सडकको बीचमै रोकेर स्थानीय युवाहरु प्रमोद पटेल, मोटर वर्णवाललगायतका आधा दर्जनभन्दा बढी युवाहरुले आक्रमणको प्रयास गरेका हुन ।
मेयरको रोकेर शनिबारको दिन किन गाडी चलाएको ? भन्दै युवाहरुले निहुँ खोेजेका थिए । आफू काम विशेषले सदरमुकाम जान लागेको भनेर बताए पनि आफूमाथि युवाहरुको समूहले अनावश्यक कुराहरु गर्दै दुव्र्यवहार गरि आक्रमणको प्रयास गरेको उहाँले बताउनुभयो ।
चौरसिया चढ्ने ना. १ झ १६८६ नम्बरको स्कार्पियोलाई ती युवाहरुको समूहले गुण्डागर्दी शैलीमा रोकेपछि अध्यक्ष चौरसियाले पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई फोन गर्नुभएको थियो ।
युवाहरुको समूहले गाडी रोके पश्चात अध्यक्ष चौरसियाले कुरा के हो ? बसेर गरौं, समस्या छ भने छलफलबाट समाधान गरौं भन्दा पनि युवाहरुको समूहले केही कुरा नसुनी जथाभावी अभद्र व्यवहार गर्दै आफूमाथि आक्रमणको प्रयास गरेको उहाँले बताउनुभयो ।
आफूमाथि दुव्र्यवहार गर्नेहरुविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता समेत गर्ने अध्यक्ष चौरसियाले बताउनुभयो ।