निजगढ,किशोरीहरुलाई प्रयोग गरेर रकम संकलन गर्ने संयुक्त नेपाल अनाथ तथा असाहय बालबालिका समाज निजगढका एक कर्मचारीलाई सार्वजनिक अपराध सम्बन्धि मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ ।

अनाथालयको नाममा निजगढका ४ जनासहित ८ जना किशोरीहरुलाई चन्दा संकलन गर्न लगाएर रकम हिनामिना गर्ने मकवानपुर जिल्लको मनहरी गाउँपालिका–७ घर भएका २८ वर्षीया पासाङ रुम्बालाई निजगढ प्रहरीले गत बुधवार पक्राउ गरेको थियो । रुम्बाले निजगढ नगरपालिका वडा नम्बर ७ मा कार्यालय खोलेरकिशोरीहरुलाई विभिन्न जिल्लामा पठाएर अनाथ बालबालिकाको सहयोगको लागि भन्दै रकम संकलन गर्न लगाउदै आएका थिए ।

जिल्ला अदालत बाराबाट ५ दिनको म्याद लिएर रुम्बामाथि सार्वजनिक अपराध सम्बन्धि मुद्दामा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिनुभयो ।

संस्थाको संचालक बताउने रुम्बाले मासिक १५ हजार तलब दिने भनेर कर्मचारीको रुपमा भर्ना गरिएका किशोरीहरुलाई प्रतिव्यक्ति दैनिक न्यूनतम २ हजार ५ सय रुपैयाटार्गेट दिएर रकम संकलन गराउदै आएका प्रहरी निरीक्षक ओलीले बताउनुभयो ।

संस्थाको गतिविधिबारे किशोरीहरुका अभिभावकहरुलाई शंका लागेर दिएको सूचनाको आधारमा प्रहरीले रुम्बालाई कार्यालयबाट पक्राउ गरेको थियो । रकम संकलनमा प्रयोग गरिएका किशोरीहरुलाई भने प्रहरीले अभिभावकहरुको जिम्मा लगाएर छोडेको छ ।

काठमाण्डौंस्थित बालुवाटरमा मुख्य कार्यालय रहेको सो संस्थाले २ महिनाअघि निजगढ ७ स्थित भेटनरी टोलमा बारा जिल्ला शाखा कार्यालय स्थापना गरेसंगै किशोरीहरुलाई नियुक्ति गरेर देशका विभिन्न शहरमा रकम संकलन गर्न पठाउदै आएको थियो ।

Leave a Reply