काठमाडौं । भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री वालेन्द्र ९बालेन० शाहको भारत भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त प्रेस वक्तव्यमा भारतले दिने सहयोगको विवरण सार्वजनिक गरिएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा घोषणा गरेको सहयोग प्याकेजमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध गराइनेछ।
उक्त सहयोगमध्ये भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि ३५ अर्ब भारतीय रुपैयाँ अर्थात् करिब ५६ अर्ब नेपाली रुपैयाँ अनुदान छुट्याइएको छ।
त्यस्तै, बाँकी १ खर्ब १५ अर्ब भारतीय रुपैयाँ अर्थात् करिब १ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) अन्तर्गत उपलब्ध गराइने संयुक्त वक्तव्यमा उल्लेख छ।
यसअघि नेपालले भारतसँग १ खर्ब भारतीय रुपैयाँ अनुदान र थप १ खर्ब भारतीय रुपैयाँ ऋण सहयोग उपलब्ध गराउन आग्रह गरेको थियो।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार अब नेपालले भारतबाट अनुदान र सहुलियतपूर्ण ऋण गरी कुल २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग प्राप्त गर्नेछ।
















