वीरगंज। सुक्खायाममा वन्यजन्तुलाई खानेपानीको अभाव हुन नदिन पर्सा राष्ट्रिय निकुञ्जमा थप दुईवटा कृत्रिम पोखरी निर्माण गरिने भएको छ। निकुञ्जको पूर्वी क्षेत्र र हालको कालीदह क्षेत्रमा आरसीसी पोखरी निर्माण गर्ने तयारी गरिएको हो।

निकुञ्ज आधाभार कार्यालयका संरक्षण तथा सूचना अधिकृत मनोज मण्डलका अनुसार यसअघि निकुञ्जका विभिन्न क्षेत्रमा ४० वटा आरसीसी पोखरी निर्माण भइसकेका छन्। प्राकृतिक जलस्रोत सीमित हुनुका साथै हिउँद र गर्मीयाममा खोला तथा खहरे सुक्ने भएकाले वन्यजन्तुलाई पानीको समस्या हुने गरेको छ।

निकुञ्ज प्रशासनले सुक्खायाममा कृत्रिम पोखरीमा ट्यांकरमार्फत पानी भरेर वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्दै आएको छ। सामान्यतया दुई मिटर लम्बाइ र दुई मिटर चौडाइका पोखरीमा पानी जम्मा गरी वन्यजन्तुको प्यास मेटाउने व्यवस्था गरिएको छ।

पर्सा राष्ट्रिय निकुञ्जमा काली, कामिनी, लौकी, हल्खोरिया र मिनी हल्खोरिया गरी पाँचवटा मात्र प्राकृतिक दह रहेका छन्। निकुञ्जभित्रका अधिकांश खोला र खहरे मौसमी प्रकृतिका भएकाले वर्षायाममा पर्याप्त पानी उपलब्ध भए पनि हिउँद तथा गर्मीयाममा पानीका स्रोत सुक्ने समस्या छ।

प्राकृतिक जलस्रोतको अभाव पूर्ति गर्न कृत्रिम पोखरी वन्यजन्तुका लागि वैकल्पिक पानीको स्रोत बनेका छन्। थप दुई पोखरी निर्माण भएपछि निकुञ्जका विभिन्न क्षेत्रमा रहेका वन्यजन्तुलाई पानीको पहुँच सहज हुने अपेक्षा गरिएको छ।

यसैगरी, लामो समयदेखि प्रयोगमा रहेका र जीर्ण भएका दुईवटा आरसीसी पोखरीको मर्मतसम्भार गर्ने योजना पनि रहेको संरक्षण तथा सूचना अधिकृत मण्डलले जानकारी दिएका छन्।

Leave a Reply