एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्र्रचण्ड) र काँग्रेसका सभापति शेरबहादुर देउवाले रोल्पाको होलेरीबाट शान्तिको संदेश दिने भन्ने समाचार सुन्दा अनौठो लागेको छ । किन भने यो देशमा विस्तृत शान्ति संझौता भएर माओवादी मुलधारमा आएको पनि वषौं भइसकेको छ । देउवा र प्रचण्डको केमेष्टी त अहिले बिदेशीहरुको इशारामा गज्जब मिलिसकेकै छ । यस्तो अवस्थामा अब शान्तिको संदेश अहिले केका लागि यो कुरा महत्वपूर्ण हो । जब दुबै पक्ष एकअर्कामा अन्तरघुलन भइसकेका छन र सहकार्यको उत्कृष्ट स्वरुप पनि प्रदर्शन भइरहेको छ त्यस्तो अवस्थामा शान्तिको सन्देश भन्दै अतितको घटनालाई स्मृतिमा ल्याउने कार्यमात्र हुुने छ । एक किसिमले भन्ने हो भने यो केवल जनतालाई मुर्ख बनाउने खेल हो । यसले इतिहासको भग्नाभषेशमा पुरिएको दुखान्त घटनालाई फेरि एक पटक सतहमा ल्याउने भन्दा बढी कुनै उपलब्धी दिने छैन ।

माओवादी जनयुद्धमा भएको कयौं अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिएर शान्तिको कामना गर्देमा हिजोका पीडितको मनमा शान्ति छाउन सक्दैन । प्रचण्ड र देउवाको लागि त पीडा भन्ने कुरा नै छैन । जनयुद्धमा चैं यिनीहरुको व्यक्तिगत क्षति नभएका कारण यसको अनुभूति उनीहरुले गर्न नसक्ने हुँदा होलेरीबाट शान्तिको कुरा गर्नु बेमौसमी बाजा र जनतालाई फेरि उल्लु बनाउने कार्यमात्र हुने छ ।

यसले प्रचण्डलाई र देउवालाई सांसद बनाउन सहयोग त गर्ला तर आम नागरिकहरुको रोइरहेको मनमा भने मलम लगाउने काम यसले गर्दैन । कम्तिमा शहिद, बेपत्ता तथा हिजोका पीडितहरुका लागि केही प्याकेजमका कार्यक्रम ल्याउन सके मात्रै शान्ति हुनेछ । नागरिक बेपत्ता बनाउनेलाई कारबाही गरेमात्रै शान्ति आउनेछ, अब फेरि होरेली गएर केको शान्ति ?

Leave a Reply