वीरगंज २७ कार्तिक ।
पञ्चायती व्यवस्थादेखि स्थानीय तह केन्द्रीत राजनीति गरेका जालिम मियां मन्सुरी र केन्द्रीय राजनीतिमा सक्रिय रहेका रमेश रिजालबिचको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ ।
पर्साको क्षेत्र नम्बर ४ बाट सत्तारुढ पांच दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रिजाल र नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) गठबन्धनका उम्मेदवार जालिम दुवै जनाको लामो राजनीतिक पृष्ठभूमि छ । ३ पटक जित र ३ पटक पराजय बेहोरिका जितेका रिजाल सातौं पटक चुनावी मैदानमा छन् । ६५ वर्षीय रिजाल २०४८ सालदेखि लगातार चुनाल लड्दै आएका छन् । २०४८, २०५१ र २०६४ को चुनाव जितेका रिजाल २०५६, २०७० र २०७४ मा पराजित भए ।
२०७४ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उनी मधेशी मोर्चाका साझा उम्मेदवार लक्ष्मणलाल कर्णसंग पराजित भएका हुन् । रिजाल १४ हजार ७ सय २ मतका साथ दोस्रो स्थानमा रहंदा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कर्णले २० हजार ७ सय ३८ मत प्राप्त गरेर निर्वाचित भएका थिए ।
वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले ९ हजार ६ सय १७ मत पाएकी थिइन् । २०५६ सालको चुनावमा अर्यालले जितेकी थिइन् भने २०७० मा नेकपा एमालेका जयप्रकाश थारुले चुनाव जितेका थिए । यसअघिको निर्वाचनमा रिजाललाई हराएका कर्ण यसपटक पर्साको क्षेत्र नम्बर १ बाट पांच दलीय गठबन्धनका साझा उम्मेदवार बनेका छन् ।
सातौ पटक संसदीय चुनाव लडीरहेका रिजाललाई पहिलो पटक चुनाव लडीरहेका जालिम पनि चुनौती बनेका छन् । संसदीय चुनावमा पहिलो पटक होमिएका जालिम २०२९ सालको पञ्चायती व्यवस्थामा तत्कालिन जगरनाथपुर गाविस वडा नम्बर १ को वडाअध्यक्षमा निर्वाचित भएका थिए । विजवनिया जगरनाथपुर गाउं पञ्चायतबाट २०३५ सालमा प्रधानपञ्चसमेत बनेका जालिम बहुदलीय व्यवस्थापछि भने नेपाली कांग्रेसमा आवद्ध भए ।
कांग्रेसबाटै चुनाव लडेर इलाका सदस्यमासमेत निर्वाचित भएका उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट जगरनाथपुर गाउंपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । ३ हजार ४ सय १ मतका साथ गाउंपालिका अध्यक्षमा निर्वाचित भएका जालिम ८ पुस २०७८ मा नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
प्रतिनिधि सभा सदस्यको चुनाव लड्ने उद्घोष गरेका जालिमलाई हेलिकप्टरसहित जगरनाथपुर पुगेका एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । सोही कार्यक्रममा जालिमले ओलीलाई १ सय ५१ किलोको मालासमेत लगाइदिएका थिए । जालिमले गरेको त्यो शक्ति प्रदर्शनबाटै प्रभावित भएका ओलीले क्षेत्र नम्बर ४ बाट प्रतिनीधि सभा सदस्यको उम्मेदवार जालिमलाई बनाएका हुन् ।
एकातिर पांच दलीय सत्ता गठबन्धनबाट पूराना राजनीतिक खेलाडी रिजाल र अर्काेतिर जसपा एमालेको गठबन्धनबाट पनि स्थानीय स्तरमा लामो समय दबदबा कायम गरेका जालिम । दुबै गठबन्धनका उम्मेदवारको आआफ्नो पकड भएका कारण एकअर्काको मत कति तान्न सक्छन् भन्नेमा यस क्षेत्रको जित निर्भर हुनेछ ।
३० वैशाखको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत हेर्दा सबैभन्दा बढी २३ हजार ९१ मत कांग्रेसलाई परेको देखिन्छ । एमालेलाई १८ हजार ११८, जसपालाई १३ हजार ६२७, माओवादीलाई ५ हजार ८९६, लोसपालाई २ हजार १२ र एकीकृत समाजवादीलाई १ हजार ३३६ मत खसेको देखिन्छ ।