पुष्पराज खतिवडा
मनहर्वा,रौतहटको देवाही गोनाही नगरपालिकामा रहेको नविल बैंकको शाखामा ग्राहकहरुले पैसा जम्मा गर्ने भौचर बिक्री हुने गरेको पाइएको छ । ग्राहकले पैसा जम्मा गर्ने भौचर बैंकले निःशुल्क उपलब्ध गराउनु पर्नेमा ब्ल्याकमा बिक्री हुने गरेको सेवाग्राहीहरुले बताएका छन् ।देवाही गोनाही नगरपालिकाले माग गरेको कर्मचारीको लागि आवेदनको दस्तुर तिर्न पुगेका स्थानीय युवालाई सोमवार भौचर सकिएको भन्दै बैंकले फिर्ता पठाएको थियो ।बैंकमा डिपोजिट भौचर नभएको भनेपछि शाखा प्रमुख अमित यादवसँग बुझ्दा बैंकमा भौचर सकिएको बताएपछि आफू निरास भएर फर्किएको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ का आशिष मगरले बताउनुभयो ।‘बैंकका कर्मचारीहरुले भौचर छैन, सकियो भनेर पैसा नलिइ फर्काए, मगरले भन्नुभयो, तर बाहिर निस्केपछि ‘ब्ल्याकर’ कालोबजारीमा थप पैसा लिएर भौचर बिक्री गरिरहेका थिए ।’ मगरले उनीहरुले आफूसंग पनि थप पैसा दिएर भौचर खरिद गर्न अनुरोध गरेको बताउनुभयो । ‘थप रकम दिए भौचर दिन्छौं भनेका थिए तर मैले त्यसो गरिन ।’ उहाँले भन्नुभयो ।विभिन्न जिल्लाबाट धाएर नविल बैंकको गोनाही शाखामार्फत नगरपालिको खातामा दरखास्त शुल्क जम्मा गर्न पुगेका धेरै जनाले भौचर नपाएपछि ब्ल्याकमा भौचर किनेर दस्तुर बुझाएको मगरले बताउनुभयो । आफूलाई पनि भौचर दिने तर पैसा लाग्ने भनेपछि भौचर किनेर पैसा जम्मा नगरेको उहाँले बताउनुभयो ।बैंकले भौचर नदिएपछि नगरपालिका एक कर्मचारीलाई शुल्कको दोब्बर रकम र दरखास्त फारम जिम्मा गर्न लगाएर घर फर्किएको मगरले सुनाउनुभयो । ‘भौचर भरेर कर्मचारीले मागे जति पैसा पनि दिएको छु, उहाँले भन्नुभयो, अब बैंकमा पैसा जम्मा भयो कि भएन थाहा छैन ।’ गरोस् । उहाँले बैंक र नगरपालिका कर्मचारीको मिलेमतोमा बैंकका भौचरको पनि कालोबजारी भएको बताउनुभयो ।बैंकका देवाही गोनाही शाखाका प्रबन्धक अमित यादवले फोन सम्पर्कमा उक्त दिन रकम डिपोजिट गर्ने भौचर सकिएको र मंगलवार पनि ३० वटा मात्रै आएको बताउनुभयो । उहाँले नगरपालिकाको खातामा रकम जम्मा गर्ने विशेष किसिमको भौचर हुने र त्यो हेड अफिसबाट ल्याउनु पर्ने पनि सुनाउनुभयो । बैंक परिसरमा ब्ल्याकमा भौचर बिक्री भएको प्रश्नको भने जवाफ नदिदै प्रबन्धक यादवले फोन काटनुभयो ।
सोही विषयमा नबिल बैंकका मधेस प्रदेश प्रादेशिक प्रमुख नितिन नन्दवानासँग बुझ्दा भौचर विषेश नभएर सबै एकैखालको हुने बताउनुभयो । उहाँले नबिल बैंकको भौचर देशभरि एकैखालको हुने र विशेष भन्ने नहुने बताउनुभयो । ‘त्यसमाथि पनि ब्ल्याकमा भौचर बिक्री भएको भन्ने सुन्दै अचम्म लागेको छ, उहाँले भन्नुभयो, कर्मचारीले बदमासी गरेका हुन् भने बुझेर आवश्यक कारबाही गरिने छ ।’ उहाँले यसमा आवश्यक सहयोग गर्न पनि आग्रह गर्नुभएको छ ।

Leave a Reply