वीरगंज
वीरगंजमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध प्रदर्शन गरिनुका साथै उनको पुत्ला दहन समेत गरिएको छ ।

विश्व हिन्दु परिषद्ले वीरगंजमा आइतबार सांझ प्रचण्डको विरुद्ध नाराबाजी गर्दै उनको पुत्ला पनि दहन गरेको हो ।प्रचण्डले हिन्दु धर्म र संस्कृति विरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको भन्दै वीरगंजमा विश्व हिन्दु परिषद नेपालको अगुवाइमा प्रचण्ड विरुद्ध प्रदर्शन गरिएको हो ।

शनिबार काठमाडौंमा आफ्नै पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा प्रचण्डले हिन्दू धर्मलाई आघात पुग्ने गरी अराजक धारणा व्यक्त गरेको परिषदको ठहर छ । शनिबारको कार्यक्रममा प्रचण्डले समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिंड्ने तर मानिसलाई लात हान्दै हिंड्ने प्रचलन रहेको बताएका थिए ।प्रचण्डको उक्त अभिव्यक्ति हिन्दु धर्म विरोधी रहेको भन्दै विश्व हिन्दू परिषदले प्रचण्डलाई कारबाहीको माग पनि गरेको छ ।

आइतबार दिउंसो परिषद पर्साकाअध्यक्ष शम्भु महतो थारुको नेतृत्वमा रहेका परिषदका कार्यकर्ताहरुले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापनपत्र पनि बुझाएको थिए।

उक्त ज्ञापनपत्रमा ‘बहुसंख्यक जनताहरूको धार्मिक आस्था एवम् मनोभावनामाथि प्रचण्डले ठाडो प्रहार गर्दै अभद्र टिप्पणी गर्नु अक्षम्य रहेको र उक्त अभिव्यक्तिले समग्र हिन्दू धर्मप्रति आस्थावान नेपाली जनमानसको भावनालाई उपहास गरेको छ ’ उल्लेख छ ।

‘हजारौं नेपालीको हत्या आरोपित माओवादी अध्यक्ष प्रचण्डले हरेक व्यक्तिमा बाहिर एउटा भित्र अर्कै कुरा हुने गरेको भन्दै सम्पूर्ण समाजको चरित्र माथि प्रश्नचिह्न लगाएका छन्,’ परिषदको ज्ञापनपत्रमा उल्लेख छ ।

माओवादी अध्यक्ष प्रचण्डले हिन्दूत्व सुविचार सन्तोष परम् सुख अर्थात मानिसलाई सन्तोष लिन सिकाउंने कुराले समाज विकासमा अवरोध गरेको बताएर सन्तोषी हुनुपर्ने सामाजिक आधारलाई भत्काएर उत्तेजना फैलाई देशलाई फेरी द्धन्द्धतिर उन्मुख हुन दुरुत्साहित समेत गरेको पनि ज्ञापनपत्रमा उल्लेख छ ।

आइतबार दिउंसो ज्ञापन पत्र बुझाउंन गएको टोलीमा परिषदका जिल्ला उपाध्यक्ष बृजेश मल्लिक, परिषदका कार्यकर्ता विवेक मिश्र, संजीव साह, पवन गुप्ता, प्रकाश शर्मा लगायतको पनि सहभागिता थियो ।

 

Leave a Reply