वीरगञ्ज,मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित तीन जनालाई ८ वर्षका दरले कैद सजाय तोकिएको छ ।विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुंवर, सदस्य तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले बुधवार सजाय निर्धारण गरेको हो । राजस्व चुहावटको अभियोगमा मिश्रलाई ८ वर्ष कैद, २ करोड ५० लाख २३ हजार ९८१ रुपैयाँ जरिवाना र एक करोड २५ लाख ११ हजार ९९० रुपैयाँ बिगो अशुल गर्न विशेष अदालतको आदेश छ । सोही इजलासले जेठ २८ गते दोषी ठहर गर्दै सजाय निर्धारणका लागि बुधवार पेशी तोकेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रको हस्ताक्षरबाट पारित भएका लिखतबाट संकलन भएको सो रकम भ्रष्टाचार भएकोले दुई करोड ९ लाख ३१ हजार ६४७ बिगो कायम गर्दै त्यसको दोब्बर रकम जरिवाना हुन मागदावी लिएको थियो ।
सोही मालपोत कार्यालयका तत्कालीन अधिकृत भूपबहादुर बोगटीलाई पनि ८ वर्ष कैद र मिश्रलाई जति नै बिगो तथा जरिवाना भराउने फैसला भएको छ । अधिकृत कमोद तिवारीविरुद्ध एक करोड ४१ लाख ४७ हजार १७१ भन्दा दोब्बर जरिवानासहित मागदावी लिई भ्रष्टाचार मुद्दा दायर भएको थियो । उनलाई पनि ८ वर्ष कैद तथा बिगो र जरिवाना पनि मिश्र र बोगटीलाई जति नै तोकिएको छ ।

















