पुष्पराज खतिवडा

मनहर्वा,बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जिल्लामा मिटरब्याजीको अवस्था भयावहक रहेको बताउनुभएको छ ।अनुचित लनदेन (मिटरब्याज) जाँचबुझ आयोगले शुक्रवार बारामा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा बोल्दै सोपकोटाले सो कुरा बताउनुभएको हो ।प्रजिअ सापकोटाले जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडितहरुको तर्फबाट परेका निवेदनहरुको अध्ययन गर्दा २४ हजार कर्जा लिएकोमा २ लाख ४० हजार रुपैंयाँको कागज गराईएको पाइएको सो अवसरमा जानकारी दिनुभयो । प्रजिअ सापकोटाका अनुसार लघुवित्तका कर्मचारीहरुले सदस्यसँग पैसा असुलेर ऋण कट्टा नगरेको भन्ने उजुरी पनि परेको बताउनुभयो.। मिटर ब्याजीको चन्गुलमा पढेलेखेका मानिसहरु समेत पर्ने गरेको पाइएको उहाँले जानकारी दिनुभयो ।प्रमुख जिल्ला अधिकारी सापकोटाले जिल्लामा ५३० जना पीडितले उजुरी दिएकोमा २८ वटा उजुरीको मात्रैको समाधान भएको पनि सुनाउनुभयो ।आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित आयोग सदस्यहरु उत्तमराज सुवेदी र गणेशबाबु अर्यालको उपस्थितिमा कलैयामा सर्वपक्षीय भेलाको आयोजना गरी मिटरब्याज पीडितका अवस्थाको बारेमा सुझाव लिइएको हो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, जिल्ला समन्वय समितिका प्रतिनिधि, विभिन्न पालिका प्रमुखहरु, पार्टी प्रतिनिधि एवं पीडितका प्रतिनिधिहरु सहभागी भएका थिए ।कलैया उपमहानगरपालिकाको सभाकक्षमा आयोजित भेलामा जिल्लामा मिटरब्याज पीडितको अवस्था र उनीहरुको सुरक्षा सम्बन्धमा सुझाव मागिएको थियो । सोही कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले पछिल्लो समय मिटरब्याजीले हतियारका रुपमा बैंक चेक प्रयोग गर्ने गरेको गरेको बताउनुभयो । उहाँले कागज गरेर रकम दिँदा कानुनी कारबाहीमा पर्नसक्ने डरमा उनीहरुले पछाडिको मितिको बैङ्क चेक लिएर बढी रकम लिने गरेको बताउनुभयो ।त्यस्तै बारागढी गाउँपालिकाका प्रमुख अशोककुमार जैशवालले नैतिकताको अभावमा मानिसले मिटरब्याज जस्तो अपराध गरिरहेको बताउनुभयो । व्यवहार चलाउनका लागि पैसा लेनदेन आवश्यक भएको भन्दै अनुचित गर्नेलाई कडा कारबाही गर्नुपर्ने उहाँको भनाइ थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सरकारले मिटरब्याज पीडितको पक्षमा काम गर्ने गरी कानुन ल्याएको भन्दै अनुचित लेनदेन अपराध भएको बताउनुभयो ।यसैबीच मधेस प्रदेशको ८ वटै जिल्लाको जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध उजुरी दिनेको भिड लागेको छ । सुदखोरविरुद्ध उजुरी दिन मिटरब्याजी पीडितहरुको प्रशासन कार्यालयमा भिड लागेको हो । सरकारले तीन सदस्यीय आयोग गठन गरेर मीटरब्याज पीडितको समस्या समाधान गर्न उजुरी माग गरेको १२ दिनमा ३ हजार ७६९ उजुरी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयका अधिकारीहरुले बताएका छन् ।समा धनुषामा ८१३, सर्लाहीमा ६३८, पर्सामा ६००, सिरहामा ४४३, महोत्तरीमा ३९३, सप्तरीमा ३८२ र रौतहटमा २०० उजुरी दर्ता भएको प्रशासन कार्यालयका अधिकारीहरुले जनाएका छन् । आयोगले मिटरब्याज पीडितहरुलाई वैशाख १७ देखि ३१ गतेसम्म जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्न आग्रह गरेको थियो । यस्तै आयोगले ७ दिन म्याद थप गरेपछि अब जेष्ठको ७ गतेसम्म उजुरी दिन सकिने भएको छ ।



















