कलैया,ध्वनी प्रदुषण हुनेगरी चर्को अवाज निकालेर डिजे साउण्ड बजाएको आरोपमा बारा प्रहरीले कलैयाबाट सोमवार दुई जनालाई नियन्त्रणमा लिएको छ ।प्रहरीले कलैया उपमहानगरपालिकाको बजार क्षेत्रमा ध्वनी प्रदुषण हुने गरी डिजे बजाउदै गरेको अवस्थामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० का मुन्नकुमार साह र सोही पालिका वडा नम्बर १२ घर भएका रमाकान्त थारुको छोरा वर्ष २० को मोहित चौधरीलाई दिउसो ३ बजे पक्राउ गरेको हो । पक्राउ परेका दुबैजना नेपाल सुनिल बैण्डसंग आवद्ध रहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार साह डिजे बोकेको भ्यान चालक र चौधरी डिजेका मालिक हुन । उनीहरुमाथि आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभएको छ ।बारा प्रहरीले गत बिहीवार सूचनामार्फत सार्वजनिक स्थानमा ध्वनी प्रदुषण हुने गरी डिजे साउण्ड सिस्टम बजाएको पाइए कारबाही चेतावनी दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रवक्ता दधिराम न्यौपानेले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा ११२ मा वातावरण प्रदूषित गर्न नहुने भन्ने व्यवस्था र सोही दफाको उपदफा (२) मा अधिकार प्राप्त अधिकारीको इजाजत बिना यान्त्रिक साधनबाट ध्वनी, रेडियोकर्मी विकिरण वा जोखिमपूर्ण फोहोरमैलाको उत्पादन, प्रसारण ओसारपसार गर्न वा थुपार्न नहुने र सोहीको दफाको उपदफा (४) मा यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको जानकारी दिनुभयो ।
वातावरण संरक्षण ऐन २०७६ को परिच्छेद ३ को दफ १५ को उपदफा १ बमोजिम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै सवारी साधन, यन्त्र, उपकरण, औद्योगिक प्रतिष्ठान, होटेल, रेष्टुरेन्ट वा अन्य स्थान वा मालवस्तु वा कुनै क्रियाकलपाबाट हुने प्रदूषण नियन्त्रण गर्ने व्यवस्था रहेको र सो विपरित कार्य गर्नेलाई सोही ऐन बमोजिम न्युनतम ५ लाख रुपैँया जरिवाना र क्षर्तिपूर्तिदेखि अधिकतम ५० लाखसम्म जरिवाना तथा क्षर्तिपूर्ति भराउने कानूनी व्यवस्था रहेको उपरीक्षक न्यौपानेले जानकारी दिनुभएको छ ।



















