कलैया,बारामा आइतवार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन्।कलैया उपमहानगरपालिका–४ स्थित सडकमा आइतवार साँझ ना ४ ख ४१८६ नम्बरको तेल ट्यांकरले ना ४७ प ५९९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रौतहटको बृद्धावन नगरपालिका–३ बिश्रामपुरकी ४० वर्षीया बबिता ठाकुरको मृत्यु भएको छ।
गम्भीर घाइते भएकी बबिताको बाराकै परवानीपुरस्थित एलएस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । दुर्घटनामा बबिताकी ११ वर्षीया छोरी मोनी ठाकुर पनि घाइते भएकी छन्। उनको एलएस अस्पतालमै उपचार भइरहेको छ। दुर्घटनापछि तेल ट्यांकरका चालक फरार रहेका छन्।
त्यस्तै, बाराको आदर्शकोतवाल गाउँपालिका–६ लौकाहामा बीआर ३० एजे ३५२७ नम्बरको मोटरसाइकललाई मधेस प्रदेश ०३–००१ च ६७८८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालक भारत, बिहारका २५ वर्षीय आदित्यकुमार पाठकको मृत्यु भएको छ । गम्भीर घाइते भएका पाठकको वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रौतहट, गौर नगरपालिका–१ निवासी २२ वर्षीय राजन दास गम्भीर घाइते भएका छन। उनको पनि गण्डक अस्पतालमै उपचार भइरहेको छ।मोटरसाइकललाई ठक्कर दिएर फरार भएको पिकअप भ्यान र त्यसका चालक पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ निवासी २२ वर्षीय दिलिप माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी नायब उपरीक्षक सापकोटाका अनुसार दुवै दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ।



















