पुष्पराज खतिवडा

मनहर्वा,नेकपा एमाले बाराले जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वा चोकमा क्षेत्र नं.३ (क) को निर्वाचन प्रचार कार्यालय संचालनमा ल्याएको छ । बुधबार अपराहन्न विषेश कार्यक्रमबीच नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलले कार्यालयको उद्धाटन गर्नुभएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै एमाले नेता पौडेलले विकास, समृद्धि र बाह्य हस्तक्षेप नियन्त्रणका लागि आगामी निर्वाचनमा एमालेले जित्नै पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले एमालेले मात्रै देश बनाउँनें भन्दै आफूहरुले जनतासंग भोट मागिरहेको बताउनुभयो । तर काँग्रेस, माओवादी, समाजवादीहरु एमाले हराउँछौं भन्दै भोट मागिरहेको भन्दै उनीहरुबाट विकास र समृद्धिको आस गर्न नसकिने बताउनुभयो ।

‘काँग्रेस सभापती शेरबहादुर देउवासँग विकासका कुरा छैनन्, माओवादी अध्यक्ष प्रचण्ड आगो बाल्ने कुरामात्रै गर्नुहुन्छ । माधव नेपाल आफुले नजिते पनि एमालेलाई हराएरै छाड्ने उद्घोष गर्दै हिड्नु भएको छ । उहाँहरुसँग एमाले हराउने भन्दा देश विकास गर्ने अर्को कुनै उजेण्डा छैन ।” उहाँले भन्नुभयो ।

गठबन्धनसँग देश बनाउने योजना र भिजन नभएको भन्दै उहाँले देशलाई अस्थिरताको भुमरीमा राखेर सत्तामा रमाउने गठबन्धनलाई भोट नदिन मतदातासंग आग्रह गर्नुभयो । ‘भोट हाल्नु अघि कतै कसैले हामीलाई नेपाल र नेपालीको नभई अरु कसैको गुलाम बनाउने पो हुन कि भनेर सोच्नुहोस ।’ पौडेलले भन्नुभयो ।

‘गठबन्धनका दलहरुले देश बनाउन नभई एमाले हराउनको लागिमात्रै भोट मागिरहेका छन् । तर एमालेले भने सरकारमा हुँदा आफूहरुले जनहितमा गरेको काम देखाएर भोलि गर्ने कामको फेहरिस्तसहित जनतासंग मत मागेका छौ ।’ नेता पौडेलले भन्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै एमाले पोलिटब्युरो सदस्य, पूर्वमन्त्री एवं बारा क्षेत्र नं.३ की प्रतिनिधिसभा सदस्य उमेदवार ज्वाला कुमारी साहले नेकपा एमाले पाटी देशको सच्चा पहरेदार र विकासको संंवाहक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘६ महिना लामो भारतीय नाकाबन्दीको डटेर सामना गर्ने र वर्षौदेखि मिचिएको पश्चिम नेपालको भूभाग लिम्पीयाधुरा समेटेर नक्सा जारी गर्ने हिम्मत एमालेले देखायो । देशभर विकासका पूर्वाधार तयार गर्ने, जेष्ठ नागरिक, बालकालिका, दलित, अपाङ्ग र अल्पसंख्यकका लागि सामाजिक सुरक्षा कार्यक्रम, गरिबलाई बास दिने कार्यक्रम एमालेका गर्व गर्न लायक कार्यक्रम हुन् ।’ साहले भन्नुभयो ।

देशका हितमा काम गर्न र समाजवादको मार्ग फराकिलो पार्न एमालेलाई जिताउनु पर्ने भन्दै उम्मेदवार साहले मतदाता गुहार्नुभयो । ‘देश र जनताका हितमा काम गरेरै पहिचान बनाउन सफल नेतृत्व भएको पार्टी एमाले नै भएकाले एमालेको सुर्य चिन्हमा मतदान गर्न अनुरोध गर्दछु ।’ साहले मतदातासंग आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार रविन्द्र दास श्रेष्ठ, क्षेत्र ३ (क) ईन्चार्ज किशोर शर्मा, एमाले प्रदेश कमिटी सदस्य चयन मगर, सिता सुवेदी, लक्ष्मी नेपाली, अशोक तिवारी, क्षेत्रीय ईन्चार्ज अनिलकुमार मैनाली लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम क्षेत्र नं.३ (क) अध्यक्ष रमेश सापकोटाको अध्यक्षता एवं जिल्ला कमिटी सदस्य पुनदेवप्रसाद रौनियारको संचालनमा सम्पन्न भएको हो ।

Leave a Reply