उमेश घलान

रतनपुर,निजगढ– १३ स्थित शक्तिश्वर मन्दिर गुफामा हरिबोधिनी एकादशी मेला आयोजना गरिने भएको छ ।

मेलामा विभिन्न संस्कृतिक नृत्य, खेल, र मनोरञ्जनात्मक स्टलहरु राखिने मेला आयोजक समितिले जनाएको छ । यहि कार्तिक १८ गते शुक्रबार बिहानैदेखि नदी किनारमा फूल तार्ने र पूजा गर्ने भक्तजनको भिडसंगै मेला पनि लगाउने तयारी भएको हो ।

हरिबोधिनी एकादशीको दिन शक्ति खोला किनारमा पर्ने शक्तिश्वर मन्दिर गुफा परिशरमा हरेक बर्ष मेला लाग्ने गरेको छ । हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान् विष्णुको आराधना गरिन्छ । भगवान विष्णुको प्रतीकको रुपमा घरघरमा तुलसीको पूजा पनि गरीन्छ । यसै दिन भगवान विष्णुको तुलसीरुपी लक्ष्मीसँग विवाह भएको मान्यताका आधारमा तुलसी विवाह पनि गरिदिने चलन छ ।

मेला आयोजक समितिका अनुसार मेलामा डम्बरपुर, रतनपुर, भक्तलाल, हेटौडा आम्लेखगञ्जबाट ठुलो संख्यामा श्रद्धालुहरु ढोलीमा फूल, प्रसाद लिएर शक्ति नदीमा फूल तार्न आउने गरेका छन । सोही दिन भजन, कृतन, नाचगान गरेर पूजा गरेको तोरन नदीमा टाँगिने गरिन्छ ।

Leave a Reply