चन्द्रपुर,चन्द्रपुर नगरपालिकाले राजमार्ग तथा मुख्य बजार क्षेत्रमा सडक र फुटपाथमा भएको अतिक्रमण हटाउने अभियान सुरु गरेको छ।लामो समयदेखि व्यापारी तथा सर्वसाधारणले सडकछेउमा सामान राखी व्यवसाय सञ्चालन गर्दै आएको, पैदल यात्रु र सवारी यातायातलाई असुविधा हुने र दुर्घटनाको जोखिम बढ्दै गएको गुनासोपछि नगरपालिकाले यो कदम चालेको हो।

मंगलबार बिहान नगर प्रमुख सञ्जयकुमार काफ्लेको नेतृत्वमा सुरु भएको अतिक्रमण हटाउने अभियान पहिलो चरणमा चन्द्रनिगाहपुर चोक वरपर केन्द्रित रहेको थियो । यसअघि बारम्बार सूचना जारी गर्दा पनि अतिक्रमण नहटाइएपछि नगरपालिकाले प्रत्यक्ष रूपमा कदम चाल्नुपर्ने अवस्था आएको नगर प्रमुख काफ्लेले बताउनुभयो ।उहाँले भन्नुभयो, “नगरलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन यो हाम्रो दायित्व हो। सडक सबैको साझा सम्पत्ति हो, यसलाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्न पाइँदैन।”

नगरपालिकाकाले महेन्द्र राजमार्ग अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरदेखि मुनलाइट एकेडेमीसम्मको गौर–चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत मुख्य चोकदेखि बजार क्षेत्रसम्मको क्षेत्रको अतिक्रमण हटाउन लागेको हो । यी क्षेत्रमा केही व्यवसायीहरुले वर्षौंदेखि पसल बाहिर सामग्री थुपार्ने, फुटपाथमै व्यवसाय गर्ने र सडकपेटीलाई पार्किङ स्थल बनाउने जस्ता गतिविधि गर्दैआएका थिए।

नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष सञ्जयकुमार कार्कीले नगरपालिकाको यो पहललाई सकारात्मक कदमका रूपमा लिएको जनाउनुभएको छ । उहाँले भन्नुभयो, “फुटपाथ खाली भएपछि शहरको सौन्दर्य मात्र बढ्दैन, ट्राफिक व्यवस्थापन सहज हुन्छ, पार्किङमा समस्या रहँदैन र सडक दुर्घटनाको जोखिम पनि घट्छ। यो अभियानलाई निरन्तरता दिन जरुरी छ।” उहाँले भन्नुभयो ।

त्यस्तै, स्थानीयवासीहरुले पनि सुरुवाती असहजता भए तापनि दीर्घकालीन रूपमा सुविधा हुने विश्वास व्यक्त गरेका छन्।
अर्कोतर्फ, केही व्यापारीहरूले भने अचानक अतिक्रमण हटाउँदा आफ्नो व्यवसाय प्रभावित भएको गुनासो गरेका छन्। उनीहरूको भनाईमा बजार क्षेत्रमा व्यवस्थित पसल वा गोदामको अभाव भएकाले सडकछेउ प्रयोग गर्नुपरेको हो। पालिकाले वैकल्पिक समाधान खोज्नुपर्ने उनीहरूको माग छ।नगरपालिकाले अतिक्रमणविरुद्धको अभियान एकदिने मात्र नभई निरन्तर सञ्चालन गरिने स्पष्ट पारेको छ। नियम उल्लङ्घन गर्नेहरूमाथि जरिवाना वा कानुनी कारबाही समेत गरिने चेतावनीसमेत नगरपालिकाले दिएको छ।

Leave a Reply