सिमरा,जनमत र कार्यकर्ता पनि नभएको पार्टीबाट बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएका एकिकृत समाजवादीका नेता किसान श्रेष्ठ यतिबेला नेपाली कांग्रेसका नेता फकाउनमा ब्यस्त देखिनुभएको छ ।

टिकट वितरणलाई लिएर असन्तुष्टि जनाउदै आएको कांग्रेसले निर्वाचनमा असहयोग गर्ने देखेपछि श्रेष्ठले कांग्रेसका नेता फकाउन थाल्नुभएको हो । आफ्नो समेत केही प्रतिशत लगानी रहेको सिमरास्थित होटल क्लासिकमा बोलाएर समाजवादीका उम्मेदवार श्रेष्ठले कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुलाई फकाउने अभियान सुरु गर्नुभएको हो ।

कांग्रेस नेतालाई फकाउने क्रममा श्रेष्ठले तनँहु( १ नेपाली कांग्रेसका बरिष्ठ नेतालाई छोडेर आफू बारा आएको बताउने गर्नुभएको छ । तर उक्त क्षेत्रमा बरिष्ठ नेता पौडेलले टिकट पाउने भएपछि उहाँ पार्टीको जनधार नै भएको बारा ४ मा आउनुभएको हो । श्रेष्ठ नेपाली कांग्रेश र माओवादी केन्द्रको मतदाताको भर परेर उम्मेदवार बन्नुभएको हो । तर श्रेष्ठको उम्मेदवारीसंगै स्थानीय कांग्रेशका नेता कार्यकर्तामा असन्तुष्टि चुलिएको छ ।

तनँहुबाट टिकट नपाउने देखेपछि बारा ४ मा रोज्ने निर्णयमा पुग्नुभएका श्रेष्ठलाई अहिले आफ्नो निर्णय आफैमाथि भारी पर्न थालेको छ । एकिकृत समाजवादीको कमजोर जनमत हुँदाहुँदै पनि ठुलो पार्टीलाई पन्छाएर टिकट हत्याउन सफल हुनुभएका श्रेष्ठ अहिले कांग्रेश मतदातालाई रिझाउने प्रयासमा लाग्नुभएको छ ।

तर कांग्रेश कार्यकर्ताहरुको रुझान हेर्दा श्रेष्ठले जति प्रयास गरेपनि कांग्रेस समर्थकको मत भने प्राप्त गर्ने देखिदैन् । यस क्षेत्रमा कांग्रेस बलियो र धेरै जनमत भएको पार्टी हो । मधेसवादी दलहरु छिन्नभिन्न बनेको अवस्थामा एमालेपछि कांग्रेश नै अहिले यहाँ पहिलो शक्तिको रुपमा छ । तर बिडम्वना नै मान्नुपर्छ यति बलियो जनमत हुँदाहुँदै पनि कांग्रेसले यस क्षेत्रमा एउटा पनि टिकट नै प्राप्त गर्न सकेन । क्षेत्र नम्बर ४ को क मा माओवादी र ख मा लोसपाले उम्मेदवारी दिएको छ । यसअघि भएको स्थानीय तहको निर्वाचनमा पनि जीतपुरसिमरा उपमहानगरपालिकाबाट कांग्रेशले पाँच दलीय गठबन्धनबाट उपप्रमुख पदमामात्रै उम्मेदवारी पाएको थियो । तर गठबन्धनका उम्मेदवार राजन पौडेल विजयी हुँदा कांग्रेश उम्मेदवार मेघा शाही भने पराजित हुनु परेको थियो ।

नगर प्रमुख निर्वाचत भएको आधार देखाएर माओवादी केन्द्रले यस निर्वाचनमा प्रदेशसभा ४ (क) तर्फको टिकट समेत प्राप्त गरेको छ । कांग्रेसलाई भ¥याङ मात्रै बनाउदा पार्टीको अस्तित्व समाप्त हुने देखेपछि कांग्रेसका अगुवा नेता इच्छाबहादुर वाग्ले र नारायणी रायमाझीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । पार्टीका कार्यकर्ताको भावनामाथि निरन्तर प्रहार भएको भन्दै उम्मेदवारी दिएको बताउने रायमाझी भने पार्टीमा उचित पद पाउने भएपछि स्वतन्त्र चुनावी अभियानबाट पछि हटनुभएको छ । कार्यकर्ताको भावनाको कदर नभएको बताउने रायमाझीले अन्तिम समयमा पार्टीले पदीय जिम्मेवारी दिने भएपछि काठमाण्डौ गएर स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ । तर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका वाग्ले भने अझै चुनावी मैदानमा हुुनुहुन्छ । वाग्लेले चुनावी प्रचारलाई तीव्र पार्दै लैजानुभएको छ । कांग्रेसलाई जिवन्त राख्न आफूले उम्मेदवारी दिएको वाग्लेको भनाइ छ । कांग्रेसको उम्मेदवार नै नभएको ठाँउमा आफ्नो उम्मेदवारी एउटा विकल्प भएको वाग्लेको भनाइ छ । वाग्लेको प्रचारमा दैनिक सयौं कांग्रेस कायकर्ता र शुभेच्छुक सक्रिय देखिन्छन् ।

यता केन्द्रको शक्ति प्रयोग गरेर टिकट ल्याउनुभएका श्रेष्ठ भने वाग्लेको उम्मेदवारीले तनावमा पर्नुभएको छ । उहाँले उम्मेदवारी फिर्ता गराउन प्रयास गरे पनि वाग्ले अडिग देखिनुभएको छ ।

Leave a Reply