वीरगञ्ज,जिल्ला प्रहरी कार्यालय पर्साले आफ्नै साथीको हत्या गर्ने तीन जनालाई पक्राउ गरेको छ ।तास खेल्ने क्रममा पैसाको विषयमा विवाद भएपछि आफ्नै साथीको हत्या गर्ने तीन जनालाई पर्सा प्रहरीले बिहीवारपत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ उदयपुर घुर्मी बस्ने १९ वर्षीय इशाल प्रसाद कुर्मीको हत्या गरेको आरोपमा उनकै साथी वीरगञ्ज २७ उदयपुर घुर्मीकै १९ वर्षीय मुकेशप्रसाद यादव, सोही ठाउँका १९ वर्षीय अरुणकुमार यादव र १९ वर्षकै मुना तिवारी पक्राउ परेका हुन ।
इशालको शव यही फागुन ११ गते साँझ साढे ५ बजेतिर वीरगञ्ज २८ जगरनाथपुर ढाठ भन्दा करिब ५ सय मीटर पश्चिम भेडैया खोलामा तैरिरहेको अवस्थामा फेला परेको थियो ।अनुसन्धानको क्रममा आफ्नै साथीले हत्या गरेर शव फालेको खुलेको पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्टले बताउनुभयो । उहाँकाअनुसार घटना फागुन ७ गते साँझ करिब ६ बजेर १० मिनेटमा भएको हो । इशाल घरबाट वीरगञ्जमा काम गर्छु भनेर निस्किएको उनका बुबा जोगिन्द्र प्रसाद कुर्मीले अनुसन्धानका क्रममा बताएका छन् ।
डिएसपी भट्टकाअनुसार, फागुन ७ गते करिब साढे ११ बजे इशाल प्रसाद कुर्मी छिमेकी साथीहरूसँग तास खेल्न गएका थिए । तास खेल्ने क्रममा पैसाको विषयमा विवाद भएपछि मुकेश, अरुण र मुनाले मिलेर इशालको हत्या गरी भेडैया खोलामा फालेको अनुसन्धानको क्रममा खुलेको छ ।अनुसन्धानको क्रममा प्रहरीले घटनास्थलबाट मृतकको पर्स, साइकल, चप्पल, मृतकले प्रयोग गर्ने भिभो लेखिएको कभरभित्र रेडमी कम्पनीको मोबाइल फोनको टेम्पर ग्लास बरामद गरेको जनाएको छ ।उनीहरू तीनै जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा ६ दिनको म्याथ थप लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले बताउनुभयो ।



















