निजगढ,नवौं राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय छनौट प्रतियोगितामा सहभागी हुन बारा जिल्लाको तेक्वाण्डो खेलाडीहरुको बिहीवार निजगढबाट बिदाई गरिएको छ ।
निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राचन्द्र कटुवालले बारा जिल्लाबाट प्रतियोगितामा सहभागी हुने खेलाडीसहित प्रशिक्षक, व्यवस्थापक र निर्णायक टोलीलाई टीका लगाएर बिदाई गर्नुभएको हो । बिहीवार बिहान वडा नम्बर ९ को वडा कार्यालयमा आयोजित कार्यक्रममा विदाई गरिएको थियो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मधेस प्रदेशबाट सहभागी हुने खेलाडीहरुको छनौंट प्रतियोगिता बिहीवारबाट बर्दिवासमा शुरु भएको छ । बारा जिल्लाबाट छनौट भएका खेलाडीहरुलाई प्रदेशस्तरीय छनौट प्रतियोगितामा सहभागी हुनेछन । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमितिले निजगढमा भएको छनौंट प्रतियोगिताबाट प्रदेशमा खेल्ने खेलाडीहरुको चयन गरेको थियो ।
प्रशिक्षक हेमलाल श्रेष्ठका अनुसार प्रतियोगितामा पुरुषतर्फ जिल्लाबाट दिनेश तामाङ्ग, श्यामबहादुर अधिकारी, बिटुकुमार शाह, दिनेशकुमार मण्डल, अर्जुन साह, निशान कलवार, पवनकुमार श्रेष्ठ, अमितकुमार साह सहभागी भएका छन भने महिलातर्फ सम्झना पाख्रिन, मनिषा वाईवा, सानु लामा, योङजा लामा योञ्जन, प्रतिमा अधिकारी, अनिशा कार्की, लिला श्रेष्ठ र पार्वती बस्नेतले प्रतिस्पर्धा गर्नेछन । पुम्सेतर्फ भने पुरुषमा बर्षात मोक्तान, जेम्स बिक, दिलबहादुर बिक, देशबहादुर पाख्रिन र महिलामा एलिशा अर्जेल र बन्दना कुवरले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन । बारा जिल्लाबाट छनौट भएका अधिकांश खेलाडी निजगढका हुन ।
त्यसैगरी टोलीमा प्रशिक्षक श्रेष्ठसहित टोली व्यवस्थापकमा बृजमोहन साह र निर्णायकमा अन्तर्राष्ट्रिय रेफ्री जीतसिंह लामा, नन्दु लामा र उदयराज पाण्डे रहेकाछन ।
प्रतियोगितमा विजयी खेलाडीहरु असोज २८ गतेदेखि कार्तिक ३० गतेसम्म पोखरामा हुने नवौं राष्ट्रिय खेलमा सहभागी हुनेछन ।


















