मनोज शाह
जीतपुर,बाराको एक सामुदायिक वनबाट चोरिएको ठूलो परिमाणको काठ पर्सा जिल्लामा फेला परेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मुसिर्निमाई मध्यवर्ती सामुदायिक वन उपभोक्त समितिको वन क्षेत्रमा राखिएको ठुलो परिमाणका सालका गोलियाहरु चोरी भएका थिए । खोजतलासको क्रममा उपभोक्त समितिका पदाधिकारीहरुले वीरगन्ज महानरपालिका वडा नम्बर ३२ सबैया साझेदारी वन क्षेत्रमा सो काठ बरामद गरेका हुन ।
तस्करहरुले लुकाएर राखेको अवस्थामा सालको गोलिया ९ थान (४५.२४ क्यु फट), चिरान काठ १४ थान (१६.४८ क्युफिट) र साईकल एक थान बरामद गरिएको डिभिजन वन कार्यालय पर्साका अधिकृत सुभाषचन्द्र दासले जानकारी दिनुभयो ।
पर्साका काठ तस्करहरुले समय समयमा बाराको वन क्षेत्रबाट तस्करी गर्ने गरेको र सामुदायिक वन समुहको पहलमा चोरी भएको काठ बरामद गर्दै आएको मुसनिर्यामाई मध्यवर्ती वन उपभोक्त समितिका अध्यक्ष कुबेर न्यौपानले बताउनुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष ताराबहादुर कार्की, सशस्त्र प्रहरी बेस क्याम्प सोलखपुर पर्साका प्रमुख नवराज बुढाथोकीलगायतको अगुवाइमा वन उपभोक्त समितिका पदाधिकारी, सदस्य र स्थानीय उपभोक्ताको प्रयासमा चोरी भएको बरामद गरिएको हो ।