पुष्पराज खतिवडा
बारा,बारा जिल्ला सदरमुकाम कलैयामा रहेको रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसको ४३औं बार्षिकत्सव तथा १७औं क्याम्पससभा सोमवार सम्पन्न भएको छ ।क्याम्पस परिसरमा आयोजित सभाको उद्धाटन कलैया उपमहानगरपालिका नगर प्रमुख विनोद साहले गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि साहले क्याम्पसको विकासमा पालिकासधै साथमा रहेको बताउनुभयो । स्तरीय पठनपाठन र थप संकाय संचालन गरेर तराई मधेसबाट अध्ययनको लागि विद्यार्थी अन्यत्र जाने समस्या रोक्नसकेमात्रै ठुलो उपलब्धी हुने नगरप्रमुख साहले बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य लक्ष्मी देवी, कलैया उपमहानगरपालिकाकी उपप्रमुख रोशन प्रविन, नेकपा एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डेय, नेपाली काँग्रेस बाराका जिल्ला उपसभापनि मनोज भट्ट, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दास, क्याम्पस प्रमुख निवेश तिमल्सिना, महादानवीर मोहन विक्रम शाहका नाती किरणविक्राम शाह र रामलाल चनावालाका नाती उद्धव साह लगायतको सहभागिता थियो ।
मोहनविक्रम शाहका छोरा दिपविक्रमले २०३८ सालमा आफ्ना बुवाको नामबाट क्याम्पसको नामाकरण गर्नेगरी जग्गासहित १५ कोठे क्याम्पस भवन निर्माण गर्नुभएको थियो । यस्तै वृद्धा अवस्थामासमेत टोकरीमा चनाका परिकार राखेर विद्यालयहरुमा पुगेर बिक्री गर्ने चनावालाले आफ्नो कमाइबाट जोडेको २ कठ्ठा जमिन क्याम्पसलाई दान गर्नुभएको थियो ।
बार्षिक उत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिता सहभागी २२५ जना विद्यार्थीलाई ट्रफी, प्रमाणपत्र र पुरस्कर वितरण गरिएको थियो । क्याम्पसले आयोजना भलिबल, चेस, खोखो, दौड, कबडी, ब्याडमिन्टन, कविता, वकृत्वकला, निवन्ध लेखनलगायतका ८ विदाका विजयी छात्रछात्रालाई पुरस्कार वितरण गरिएको हो ।
एक हजार ३३२ जना विद्यार्थी अध्यायनरत क्याम्पसमा हाल शिक्षा र बाणिज्य संकाय मात्रै संचालनमा छन् । बार्षिक उत्सवको अवसरमा क्याम्पस प्रमुख तिमल्सिनाले आगामी शैक्षिक सत्रबाट क्याम्पसमा कानुन संकायको अध्यापन शुरु हुने बताउनुभयो । हाल बाणिज्य र शिक्षा संकाय मात्रै रहेको क्याम्पसमा आगामी शैक्षिक सत्रदेखि कानुन संकाय थनिने छ । ‘आवश्यक प्रक्रिया पुरा गरेका छौं, उहाँले भन्नुभयो, संकाय थप्ने बारेमा डिनको कार्यालय पनि सकारात्मक छ ।’ योसँगै बाणिज्यमा थप शैक्षिक संकाय विजनेस, होटल व्यवस्थापन, कम्प्युटरलगायतका विषय पनि समावेश गरिने उहाँले बताउनुभयो ।
क्याम्पस प्रमुख तिमल्सिनाका अनुसार क्याम्पस सभाको बन्दसत्र भने पौष १६ गते हुने छ । बन्द सत्रमा २०८०।०८१ को बार्षिक प्रतिवेदन तथा चालु आर्थिक वर्ष ०८१।०८२ को प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल हुने र गत वर्षको आर्थिक प्रतिवेदन र चालु वर्षको प्रस्तावित बजेट पनि पारित गर्नेछ । त्यसैगरी क्याम्पसको विधान शंसोधनसहित विविध विषयमा बन्द सत्र केन्द्रित रहने क्याम्पस प्रमुख तिमल्सिनाले जानकारी दिनुभयो ।क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुरप्रसाद चौरसियाको अध्यक्षतामा भएको सो कार्यक्रममा समितिका उपाध्यक्ष एम. समिउल्लाले स्वागत मन्तव्य र सहायक क्यापस प्रमुख अमित मिश्रले कार्यक्रमको संचालन गर्नुभएको थियो ।


















