अनिल तिवारी
सिमरा, साउन ७– जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहीमा रहेको म्याग्नेस फर्माच्युटिकल्स प्रा.लि. मा कार्यरत एक कर्मचारीको परिवारका सदस्यमा कोरोना संक्रमण देखा परेपछि वडाबासी त्रसित बनेका छन ।
उद्योगमा कार्यरत एक कर्मचारीको परिवारको सदस्यमा गत शुक्रवार कोरोना संक्रमण देखापरे पनि आफ्ना अन्य कर्मचारीमा कोरोना संक्रमण भए नभएको पत्ता लगाउन उद्योग प्रशासनले कुनै चासो नदिपछि वडाका बासिन्दाहरु त्रसित भएको वडा अध्यक्ष असलम देवानले जानकारी दिनुभयो । कर्मचारीलाई कोरोना टेष्ट गराउन चासो नदेखाएको व्यवस्थापनले उद्योग भने निर्वाध रुपमा संचालन गर्दै आएको छ । वडा अध्यक्ष देवानले कर्मचारीको परिवारका सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि पनि आफ्नो कर्मचारीको चेकजाँच गराउन कुनै चासो नदिनु उद्योग प्रशासनको कमजोरी भएको बताउनुभएको छ ।
यसै विषयमा आवश्यक कारवाहीको लागि स्थानीय प्रहरी प्रशासनमा जानकारी गराउदासमेत कसैले पनि चासो नदिएको भन्दै उहाले चिन्ता ब्यक्त गर्नुभएको छ । कोरोना संक्रमित परिवारका कर्मचारीलगायत निकट सम्पर्कमा रहेकाहरुको आरडिटी टेष्ट नहुदासम्म उद्योग संचालनमा रोक लगाइनुपर्ने उहाँको भनाइ छ । संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले तोकेको र सबैले पालना गर्नुपर्ने मापदण्डअनुसार म्याग्नेस फर्माच्युटिकल्स प्रा.लि.ले काम नगरेपछि उद्योग नजिक रहेको गाउँमा कोरोना संक्रमण हुनसक्ने आशंकामा आफ्नो वडाका बासिन्दाहरु चिन्तित बनेको उहाँले बताउनुभयो ।
यता उद्योगको एच.आर दिप्ती बजगाईले आफनो कर्मचारीलाई हाल सम्म कोरोना पुष्टि नभएकोले आफ्नो उद्योगका कुनै कर्मचारीको चेकजाँच गराउन आवश्यक नरहेको बताउनुभएको छ । उहाँले होम कारेन्टााईनमा बस्दै आएकाहरुलाई बुधबार नै आरडिटी चेक गर्न पठाइएको जानकारी पनि दिनुभयो । निजमा कोरोना संक्रमण पुष्टि भए निजको सम्पर्कमा आएको सबैको चेकजाँच गराउने उद्योगको तयारी छ ।

Leave a Reply