निजगढ,नयाँ वर्ष २०८३ को पहिलो दिन हिजो निजगढ ४ को शहिद हिरालाल पार्क, महोरी पार्क, निजगढ १३ को शक्ति खोला महादेव मन्दिर लगायत पर्यटकीय स्थानहरुमा सर्वसाधारणको चहलपहल बढेको छ ।
नयाँ वर्षको अवसरमा घुम्न आउनेहरुको भिडले हिजो बिहानदेखि उक्त क्षेत्रहरुमा युवा युवति र सर्वसाधारणको चहलपहल बाक्लो देखिएको थियो । निजगढसहित जिल्लाका विभिन्न पालिकाहरुबाट हजारौं सर्वसाधारण नयाँ वर्षको अवसरमा निजगढका पर्यटकीय क्षेत्रमा पिकनिक खान र घुम्न आएका हुन । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ शुरुआतका रूपमा लिने गरिन्छ ।
नयाँ वर्षमा घुम्न आउनेहरुका कारण निजगढको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको निजगढ ४ स्थित बाघभैरव सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमरलाल स्याङ्गतानले बताउनुभयो ।बाघभैरव सामुदायिक वन क्षेत्रभित्र पर्ने मोहोरी र हिरालाल पार्क बारा र छिमेकी रौतहट, पर्सा र सर्लाही जिल्लाका बासिन्दाहरुको लागि आकर्षक गन्तव्यको रुपमा रहेका छन ।
हिजो देशभर तथा विदेशमा रहेका नेपालीले एकआपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्षलाई स्वागत गरेका छन । यसैबीच मधेस प्रदेशको धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा नयाँ वर्षको अवसरमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ । नयाँ वर्षको पहिलो दिन जनकपुरमा नेपाली तथा भारतीय भक्तजनहरुको भीड लागेको हो ।नयाँ वर्षको पहिलो दिन भगवानसँग आफूले चिताएको मनोकामना पुरा होस् भन्ने कामनासहित श्रद्धालु तथा भक्तजनहरु विभिन्न मठमन्दिर जाने परम्परा छ । जनकपुरधाम मन्दिरमा पनि दर्शन गर्नको लागी नेपाल तथा भारतका विभिन्न स्थानबाट हजारौं भक्तजन आएका छन् ।
विशेषगरी यहाँको जानकी मन्दिर लगायतका प्रमुख धार्मिक स्थलहरूमा बिहानैदेखि दर्शन तथा पूजाआजाका लागि भक्तजनहरूको घुइँचो लागेको थियो । भक्तजनहरूले वर्षको पहिलो दिन भगवानको दर्शन गरी सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
माता सीताको जन्मस्थलका रूपमा परिचित जनकपुरधाममा नयाँ वर्ष, रामनवमी र विवाह पंचमी जस्ता पर्वमा पर्यटकको आगमन बढ्ने गर्दछ । यसवर्ष पनि होटल, धर्मशाला तथा यातायात क्षेत्रमा चाप बढेको स्थानीय व्यवसायीहरूले बताएका छन् ।
त्यस्तै सिराहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिकस्थल सलहेश फूलबारीमा पनि हिजो नयाँ वर्ष २०८३ को अवसरमा मेला लागेको छ । हरेक वर्ष वैशाख १ गते मात्र फुल्ने विश्वास गरिने दुर्लभ सुनाखरी फूलको दर्शन गर्न र पूजाअर्चना गर्न बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लागेको थियो । लहान नगरपालिका वडा नम्बर १२ र २२ मा फैलिएको झण्डै नौ बिघाको सहलेश फूलबारीमा रहेको हारमको रूखमा हिजो बिहानैदेखि सुनाखरी फूल ढकमक्क फक्रिएको छ ।
१४औँ शताब्दीका लोकनायक राजा सलहेश र प्रेमिका मालिनीको प्रेमको प्रतीक मानिने यो फूल हेर्न नेपालका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतीय शहरहरूबाट हजारौँको सङ्ख्यामा भक्तजनहरू आइपुगेका थियो ।तराईको पासवान समुदायका इष्टदेव मानिने राजा सलहेशको पूजा गर्दा मनले चिताएको पुग्ने, निःसन्तानहरूलाई सन्तान प्राप्ति हुने तथा विभिन्न रोगव्याधिबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ ।

















