वीरगञ्ज,पर्सा जिल्लाको ठोरी गाउँपालिका– ४ विजयवस्ती नजिकैको गोपीवस्तीमा आइतवार बिहान एउटा पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।निर्मल मध्यवर्ती समितिका अध्यक्ष चिनबहादुर श्रेष्ठका अनुसार खेतमा काम गर्न जाँदै गरेका स्थानीय किसानहरूले बाटोमा बाघ सुतेको जस्तो देखेपछि गाउँलेलाई खबर गरेका थिए । ‘सुरुमा जिउँदो बाघ सुतेको पो हो कि भनेर स्थानीय त्रसित हुँदै भागेका थिए, उहाँले भन्नुभयो, तर पछि सबै जना गएर हेर्दा मृत अवस्थाको दुर्लभ पाटे बाघ रहेछ ।’
उक्त स्थान पर्सा राष्ट्रिय निकुञ्जभन्दा भारतको वाल्मीकि टाइगर रिजर्भ नजिकै पर्ने भएकाले मृत बाघ सोही जङ्गल क्षेत्रबाट आएको हुन सक्ने अनुमान गरिएको छ ।प्रारम्भिक अनुसन्धानमा बाघको मृत्यु आपसी लडाइँका कारण भएको हुनसक्ने देखिएको छ । अध्यक्ष श्रेष्ठका अनुसार, घटनास्थल वरपर जमिन खोतलिएको र जुधेको स्पष्ट सङ्केतहरू देखिएका छन् ।मृत बाघको घाँटीमा अर्को बाघले टोकेको जस्तो चोटपटक पनि फेला परेको छ । घटनाबारे थप अनुसन्धान गर्न पर्सा राष्ट्रिय निकुञ्ज र सम्बन्धित निकायहरूलाई खबर गरिएको छ ।


















