वीरगन्ज,पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सोमवार एक समारोहका बीच दशैं सस्तो बजार २०७९ को उद्धाटन गर्नुभएको छ । उद्धाटन कार्यक्रममा बोल्दै प्रजिअ ढकालले वीरगन्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सस्तो बजारबाट वीरगन्ज लगायत आसपास क्षेत्रका आम सर्वसाधारणहरु लाभान्वित हुने बताउनुभयो ।

साथै उहाँले वीरगन्ज उद्योग वाणिज्य सङ्घले सर्वसाधारलाई लक्षित गरी दशैंको अवसर पारी आयोजना गरेको दशैं सस्तो बजार सञ्चालन गर्ने कार्य एकदमै सराह्नीय रहेको बताउनुभयो ।

प्रत्येक वर्ष झै यस वर्ष पनि नेपालीहरुको महान चाड बडादशैंको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, पर्सा र वीरगन्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा सञ्चालन गरिएको सस्तो बजार सात दिनसम्म लाग्ने छ । “दशैं सस्तो बजार २०७९” बजार घटस्थापनादेखि पूmलपातीसम्म आयोजना हुने बताइएको छ । उक्त सस्तो बजारमा दैनिक उपभोग्य सामग्री सहितको १९ वटा स्टलहरु राखिएको छ ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले दैनिक उपभोग्य वस्तुहरु सुपथ मूल्यमा एकैथलोमा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको बताउनुभयो । उहाँले उक्त दशैं सस्तो बजारमा दैनिक उपभोग्य सामग्रीहरु एकैथलोमा सुपथ मूल्यमा उपलब्ध भइरहेकोले यस्ता सामग्री खरिद गरी लाभान्वित हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख रिमा साह, सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, सहसचिव अनोज रुँगटा, उद्योग विभागका दिलीप साह, स्थानीय व्यापारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply