काठमाडौं । नेपाल माछा उत्पादनमा आत्मनिर्भरतातर्फ अघि बढिरहेको दाबी गरिए पनि पछिल्लो समय माछाको आयात उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो तीन महिना साउनदेखि असोजसम्म माछाको आयात परिमाण अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै दोब्बर पुगेको छ।

भन्सार विभागका अनुसार यस अवधिमा ४० करोड ३४ लाख रुपैयाँ बराबरको १ हजार ५६६ मेट्रिक टन माछा आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा २२ करोड ७६ लाख रुपैयाँ बराबरको ८३५ मेट्रिक टन माछा आयात भएको थियो।

माछा आयातबाट यस वर्ष ९ करोड ३० लाख रुपैयाँ भन्सार राजस्व संकलन भएको छ। अघिल्लो वर्ष यस्तो राजस्व ५ करोड ३६ लाख रुपैयाँ थियो।

केन्द्रीय मत्स्यपालन प्रवर्द्धन तथा संरक्षण केन्द्रका अनुसार नेपालमा वार्षिक १ लाख ३१ हजार ११२ मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ। कुल मागको करिब ३ देखि ४ प्रतिशत मात्रै आयातबाट पूर्ति गर्नुपर्ने केन्द्रको दाबी छ।

माछा उत्पादनमा मधेश प्रदेशको योगदान उल्लेख्य छ। देशको कुल कार्प माछा उत्पादनमध्ये करिब ५६।६ प्रतिशत मधेश प्रदेशमा उत्पादन हुने गरेको छ। बारा ११ हजार ९५७ मेट्रिक टन उत्पादनसहित पहिलो स्थानमा छ भने धनुषा दोस्रो र सिरहा तेस्रो स्थानमा छन्।

नेपालमा माछापालनमा ७५ हजारभन्दा बढी परिवार संलग्न छन् भने यस क्षेत्रबाट करिब १ लाख ९२ हजार जनाले रोजगारी पाएका छन्। उत्पादन बढ्दै गए पनि चाडपर्वका बेला आयात बढ्नुले स्वदेशी उत्पादन विस्तार र बजार व्यवस्थापनको आवश्यकता देखाएको छ।

Leave a Reply