बारा,आत्महत्याका घटना रोकथामका लागि सामाजिक स्तरमै सचेतना फैलाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । जिल्ला प्रहरी कार्यालय बाराले अन्तर्राष्ट्रिय आत्महत्या विरुद्धको दिवसका अवसर पारेर आइतवार आयोजना गरेको कार्यक्रमका अवसरमा सरोकारवालाहरुले सचेतना फैलाउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले अमूल्य जीवनलाई खेर फाल्न नहुने भन्दै आत्महत्या रोकथामका लागि सबैले हातेमालो गरेर सचेतना फैलाउनु पर्नेमा जोड दिनुभयो । बढ्दै गरेको आत्महत्याका घटनालाई निर्मूल पार्न सचेतनाको विकल्प नभएकाले सामाजिक स्तरमै सचेतना फैलाउन सबै हातेमालो गर्दै अघि बढ्नु पर्ने उहाँको भनाइ थियो ।
झुण्डिएर आत्महत्या गर्न लागेको जस्तै देखिने गरी तयार पारिएको सांकेतिक पुत्ला बोकेर जिल्ला प्रहरी कार्यालय बाराबाट सुरु भएको ¥याली कलैया बजार परिक्रमा गरेर भरत चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले आत्महत्याका ८० प्रतिशत घटना डिप्रेसनका कारण हुने गरेको भन्दै तनाब व्यवस्थापन गर्न सकेमा घटना न्यूनीकरण हुने बिश्वास व्यक्त गर्नुभयो । आत्महत्या रोकथामका लागि सबैलाई सचेत बनाउन पृथक तरिकाले सांकेतिक पुत्ला तयार पारेर कार्यक्रम गरिएको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा भएको कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा, नेपाली सेनाका प्रमुख सेनानी भुपेन्द्र गोदार, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक सन्तोष ढुङ्गेल, प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेण्डेण्ट डा. गौरव महतो, कलैयास्थित सबै सामुदायिक प्रहरी सेवा केन्द्र, आत्महत्या सम्बन्धी क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधि, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न राजनीतिक दलका प्रतिनिधि, चिकित्सक, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।