वीरगञ्ज,वीरगञ्जको नारायणी अस्पतालमा पिएनसी वार्डको उद्घाटन गरिएको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आइतवार वार्डको उद्घाटन गर्नुभएको हो । उक्त वार्ड के.एन.पी पेन्टस् साथै जापानको बहुराष्ट्रिय कम्पनीले निर्माण गरेको हो ।नारायणी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. चितरन्जन शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजाल, पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादव, २ का प्रतिनीधि सभा सदस्य अजय चौरसिया, प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, श्याम पटेल, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, वीरगञ्ज महानगरका सद्भावना दूत तथा उद्योगी अशोक वैद्य लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच नारायणी अस्पतालमा विशिष्टीकृत सेवा सुरु भएपछि उपचार गराउन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।अस्पतालले दक्ष चिकित्सकको निगरानीमा एमआरआई, सिटिस्क्यान, डाइलोसिस, इन्डोस्कोपी, इकोलगायत विशिष्टीकृत सेवा शुलभ मूल्यमा प्रदान गरेपछि उपचार गराउन आउने बिरामीको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको हो ।
गत आर्थिक वर्षको पहिलो छ महिनामा एक लाख १० हजार चार सय २६ बिरामी उपचारका लागि अस्पताल आएको तुलनामा चालु आवको सोही अवधिमा २५ हजार दुई सय ७६ जना बढी अर्थात् एक लाख लाख ३५ हजार सात सय दुई बिरामीले उपचार गराएको नारायणी अस्पतालका सूचना अधिकृत डा उदयनारायण सिंहले जानकारी दिनुभयो ।

उहाँले अस्पतालबाट वितरण गरिने सेवाप्रति जनमानसमा बढ्दै गएको विश्वासले बिरामीको सङ्ख्या बढेको बताउनुभयो ।
अस्पतालमा उपचार गराउनेहरुमा नेपाली मात्र नभई १० प्रतिशतभन्दा बढी सीमावर्ती भारतीय सहरबाट आउने रहेको सूचना अधिकारी सिंहले जानकारी दिनुभयो ।

Leave a Reply