डुमरवाना,जीतपुरसिमारा उपमहानगरपालिका वडा नम्बर १४ र १५ डुमरवानामा जंगली हात्तीले पाक्न लागेको बाली खान थालेपछि स्थानीय किसान चिन्तित बनेका छन ।उपमहानगरपालिकाको दुबै वडामा मंगलवार राती हात्तीको बथान पसेर स्थानीयको घर भत्काउनुको साथै किसानले खेतमा लगाएको बाली समेत खाएर नष्ट पारेको वडा नम्बर १४ का स्थानीय ज्ञानबहादुर श्रेष्ठले बताउनुभएको छ ।
श्रेष्ठका अनुसार हलखोरियाको जंगल हुँदै राती आएको हात्तीको बथानले गाउँमा पसेर फुल माया राइको ४ कठ्ठाको मकै बाली खाएर नष्ट पारेको छ । त्यसैगरी हात्तिले केशव बराल, शालिकमराम बरालको तरकारी बाली पनि नष्ट गरेको उहाँले जानकारी दिनुभयो ।हात्तीका कारण वडा नम्बर १५ को पानी ट्याङ्की आसपासका सर्वसाधारण त्रासमा रातभर जग्राम बस्नु परेको स्थानीयले दुखेसो गरेका छ्न ।यता पर्सा राष्ट्रिय निकुन्जका वाडेन रामचन्द्र खतिवडाले मध्यवर्ती क्षेत्रभन्दा बाहिरको गाउँ भएकोले घटनास्थल जिल्ला डिभिजन वन कार्यालय बाराको कार्य क्षेत्रभित्र पर्ने बताउनुभएको छ ।

















