नरेश गुप्ता
बरियारपुर,नक्कली ऋणी खडा गरेर रकम हिनामिना गर्ने लघुवित्त संस्थाका एकजना प्रवन्धकसहित ४ जना जेल चलान भएका छन ।
पर्साको बढनिहारस्थित नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको ५ करोड ३४ लाख ५५ हजार ४ सय ७९ रुपैया हिनामिना गर्ने शाखा प्रवन्धक रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी भोजेन्द्र ठाकुर लोहार, सोही संस्थाका कर्मचारी पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा नम्बर ७ बस्ने गेनाला पटेल पर्सा वीरगन्ज महानगरपालिका वडा नम्बर २७ बस्ने प्रदिपकुमार पटेल र वीरगन्ज महानगरपालिका वडा नम्बर २७ बस्ने शेषनाथ कुशवाहालाई विभिन्न मितिमा पक्राउ गरि प्रहरीले बैकिङ्ग कसूर सम्बन्धि मुद्दा चलाएको थियो ।
२०७४ पौषदेखि विभिन्न मिति र समयमा शाखा प्रमुख लोहारसहित अन्य चारजनाले नक्कली ऋणी खडा गरेर करोडौं रकम हिनामिना गरेपछि संस्थाको केन्द्रीय कार्यलय काभ्रे धुलिखेल नगरपालिका वडा नम्बर ३ मा रहेको नयाँ सारथी लघुवित्तले २०७८ मंसिर २४ मा मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लघुवित्तले बैङ्किङ्ग कसूरमा ७ जनालाई पक्राउ गरेको भएपनि जिल्ला सरकारी वकिल कार्यालय, पर्साबाट मुद्दा नचल्ने निर्णय भई ३ जनालाई छोडिएको थियो । घटना विवरणःजाहेरी दरखास्तमा सो संस्थाको बढनिहार शाखामा २०७४ पुष २० गतेदेखि शाखा प्रवन्धकमा कार्यरत लोहारले अन्य कर्मचारीहरूको सहयोग लिई विभिन्न मितिमा ३ सय ८ जना बचतकर्ता सदस्यहरूको जानकारी बिना निजहरूको नामको नक्कली ऋण आवेदन र अन्य नक्कली कागजात तयार गरी ऋण स्वीकृत गरी ५ करोड ३४ लाख ५५ हजार ४ सय ७९ रुपैया हिनामिना गरेको भनी उल्लेख छ ।
प्रवन्धक लोहारलाई पक्राउ गरेपछि अन्य ६ जना व्यक्तिलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान हुँदा नक्कली ऋणी खडा गरी कीर्ते सहीछाप र नक्कली कागजात तयार गरी कर्मचारीहरूसमेतको मिलेमतोमा १५ जना बचतकर्ताको बचत रकम र कर्जाको ब्याजबापतको पाँच करोड सन्ताउन्न लाख बयालिस हजार दुई सय चौरहत्तर रुपैया हिनामिना गरी संस्थालाई हानी नोक्सानी पु¥याएको खुल्न आएको थियो ।
अनुसन्धानको क्रममा मानिस र मिसिल जिल्ला सरकारी वकिल कार्यालय, पर्सामा पेश हुँदा माघ २६ गतेको निर्णयअनुसार ३ जना व्यक्तिमाथि मुद्दा नचल्ने निर्णय भएको थियो । अन्यबिरूद्धको अभियोगपत्र सम्मानित उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जमा पेस हुँदा सोमवारको आदेश अनुसार लोहारलाई पुर्पक्षको लागि कारागार पठाइएको र जनही १÷१ करोड धरौटी तोकिएकोमा बुझाउन नसकेपछि अन्यलाई पनि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।