निजगढ,युथ अफ निजगढले निजगढ ८ खयरघारीकी क्यान्सर पीडित एक जना महिलालाई आर्थिक सहयोग गरेको छ ।
क्लबले मुखको क्यान्सर भएर थला पर्नुभएकी स्थानीय ४८ वर्षकी रेनुका माझीको उपचारमा सोमवार १० हजार नगद सहयोग गरेको हो । क्लबका अध्यक्ष कमल बजगाईले माझीलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

माझीले बकैया खोलामा ढुङ्गा फुटाएर र बालुवा चालेर परिवारको गुजारा चलाउदै आउनुभएको थियो । केही वर्ष पहिले ढुङ्गा कुट्ने क्रममा उछिट्टिएको गिटीले लागेर ओठमा भएको घाउ बल्झिएर क्सान्सर भएको माझीले बताउनुभएको छ ।
कमजोर आर्थिक अवस्थाका कारण गाउँघरमा चन्दा संकलन गरेर यसअघि माझीको उपचार हुदैआएको छ । माझीको उपचारमा मद्दत गर्न आफूहरुले रकम सहयोग गरेको क्लबका अध्यक्ष बजगाईले बताउनुभयो । उहाँले अन्य सहयोगी दाताहरुलाई पनि माझीको उपचारमा आर्थिक सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा वडा नम्बर ८ का कार्यवाहक वडा अध्यक्ष सालिकग्राम ढुङ्गाना, वडा सदस्य प्रेम घिमिरे, समाजसेवी प्रेम अधिकारीलगायत क्लबका सल्लाहकार जितलाल श्रेष्ठ, भाइकाजी श्रेष्ठ, पूर्वअध्यक्षहरु राजन श्रेष्ठ, उत्सवश्रेष्ठ र कार्यसमिति पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो।

Leave a Reply