सिमरा,सिमरा–काठमाडौं हवाई रुटमा यात्रुको संख्या उल्लेखनीय रूपमा घटेको छ । हवाई इन्धनको मूल्य वृद्धिसँगै हवाईजहारको भाडा दर पनि बढेपछि यो रुटमा दैनिक करिब ६५ प्रतिशतसम्म यात्रु घटेको नागरिक उड्डयन कार्यालय सिमराले जनाएको छ ।

यसअघि दैनिक ५÷६ सय यात्रुको आवतजावत हुने सिमरा विमानस्थलमा अहिले करिब २ सय हाराहारीमा मात्र यात्रु देखिन थालेका छन् । इन्धन मूल्य वृद्धिका कारण सिमरा–काठमाडौं रुटमा करिब १ हजार १ सय रुपैयाँसम्म भाडा बढेको छ । हाल सिमरा–काठमाडौं भाडा ५ हजार ५५० रुपैयाँ र काठमाडौं–सिमरा ५ हजार १५० रुपैयाँ पुगेको छ ।
केही सातायता बुद्ध एयर का एटिआर– ७२ जहाजहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । काठमाडौंबाट सिमरा आउने विमानहरूमा अधिकतम २५ जना र फर्कदा करिब ३० जना यात्रु मात्र हुने गरेका छन् । बुद्ध एयर सिमराका कार्यालय प्रमुख सुरेश रेग्मीका अनुसार पछिल्लो दुई सातादेखि उडानहरू औसत ५० प्रतिशत अकुपेन्सीमा चलिरहेका छन् ।इन्धन मूल्य वृद्धि र भाडा महँगो भएपछि मध्यम वर्गीय यात्रु हवाई सेवाबाट टाढिँदै गएको र सडक मार्ग रोज्ने क्रम बढेको ट्राभल व्यवसायीहरू बताउँछन् । सिमरादेखि काठमाडौं सडक मार्गबाट करिब चार घण्टामा पुग्न सकिने भएकाले अत्यावश्यक बाहेकका यात्रुहरूले हवाई यात्रा छाड्न थालेका छन् ।

पहिले राजनीतिक गतिविधि र व्यावसायिक प्रयोजनका लागि बढी प्रयोग हुने सिमरा विमानस्थलमा पछिल्लो समय यात्रु चाप घटेसँगै अन्य एयरलाइन्सहरूले सेवा बन्द गरिसकेका छन् भने हाल बुद्ध एयरले मात्र नियमित उडान गर्दै आएको छ ।
काठमाण्डौंबाट सबैभन्दा नजिकको यो हवाई रुटबाट देशकै प्रमुख व्यापारिक तथा औद्योगिक केन्द्र वीरगञ्ज, सिमरा र आसपाका शहरका यात्रुहरुले सेवा लिने गरेका छन ।
सिमरा विमानस्थल काठमाडौँबाट सबैभन्दा नजिक पर्ने आन्तरिक गन्तव्य विमानस्थल पनि हो । करिव ७० किमीको दुरीमा रहेको यो विमानस्थल काठमाण्डौं पुग्न १५÷२० मिनेटसम्म समय लाग्ने गर्छ ।

Leave a Reply