वीरगन्ज,छिमेकी देश भारतले गण्डक नहरमा सम्झौताअनुसार पर्याप्त पानी नछोड्दा नहरबाट पानी वितरणमा समस्या भएको छ ।
भारतले हाल नहरमा ४ सयदेखि ४५० क्युसेकसम्म मात्र पानी पठाइरहेको छ । जसका कारण सिँचाइ हुन नसक्दा धानखेत पटपटी फुट्न थालेको र धानबाली सुकेको किसानले दुखेसो पोखेका छन् । मागअनुरूप सिँचाइका लागि पानी वितरण गर्न नसकिएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर सुबोध कुशवाहाले बताउनुभयो ।
गण्डक सम्झौताअनुसार भारतले बर्सेनी धानबालीका लागि असार १५ र गहुँबालीका लागि पुस १० देखि नहरमा ८५० क्युसेक पानी पठाउनुपर्छ । नवलपरासीको भैंसालोटनस्थित नेपाल–भारत सीमामा निर्मित ब्यारेजबाट भारतले नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किलोमिटर यात्रा गरेर नहरको पानी पर्साको जगरनाथपुर गाउँपालिकाको जानकीटोलबाट नेपाल प्रवेश गर्छ ।
पर्सा, बारा र रौतहटमा गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाई नेपालतर्फ ८१ किमी छ । हाल नहरमा पानीको प्रवाह कम हुँदा ११ नम्बर ब्लकअन्तर्गत बाराको लक्ष्मीपुर कोतवालीको जमुनी नदीसम्म मात्र पानी पुगेको कुशवाहाले बताउनुभयो । समस्या समाधानका लागि पटक–पटक भारतको रामनगरस्थित दोना कार्यालयका एसडीओसँग वार्ता भए पनि चासो नदिइएको उहाँको भनाइ छ । कार्यालयबाट आफूहरुको प्राविधिक टोली नहरको बाटो हुँदै रामनगर पुगेर त्यहाँका अधिकारीसँग प्रत्यक्ष भेटघाटसमेत गरेर समस्या समाधानका लागि आग्रह गरेको भए पनि भारतीय पक्ष गम्भीर नभएको उहाँको भनाइ छ ।
यसवर्ष धान रोपाइँकै बेला नहरको भारततर्फको खण्डमा चुहावटको समस्या आएको थियो । उक्त समस्या समाधान गरी भारतीय पक्षले पानी दिए पनि पर्याप्त आउन सकेको छैन । हाल तिलाबे ब्यारेजबाट २ सय क्युसेक पानी नहरमा छाडेर काम चलाइए पनि त्यो पर्याप्त नरहेको कुशवाहा बताउनुहुन्छ । अकाशे वर्षा कम भएकाले यस वर्ष पनि नहरको सिँचाइमा आश्रित किसानबीच पानीको माग उच्च रहेको उहाँको भनाइ छ ।
सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाललाई गण्डक नहर हस्तान्तरण गरेको थियो । गण्डक नहरबाट पर्सा, बारा र रौतहटको गरी ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित गर्ने लक्ष्य भए पनि विभिन्न समस्या देखाउँदै भारतले हरेक वर्ष सम्झौताअनुरुपको पानी नेपालतर्फ पठाउँदैन । गण्डक ब्यारेजको निर्माण भारत आफैंले गरेको र सन्चालन पनि उसैले गर्ने गरेको छ । उसले ब्यारेजबाट नेपालभन्दा आफ्नै भूमिमा बढी सिँचाइ गर्ने गरेको छ ।