बरियारपुर,बाराको पसहा नदीको बाढी पसेर महागढीमाई नगरपालिका वडा नम्बर १ का किसानले राखेकोे धानको बीउ सखाप भएको छ ।

बिगत केही दिनदेखिको अबिरल बर्षाका कारण पसहा नदीमा पानीको बहाव बढेपछि कृषकहरुको खेत डुबानमा परेको हो । डुवानपछि ब्याडमा राखिएको धानको बिउ लेदो माटोले पुरिएर नष्ट भएको छ ।

पसहा नदीको बाढीले महागढीमाई नपा ४ मल्हनी र वडा नम्बर १ बरियारपुरलगायत आसपासको क्षेत्र डुबानमा परेको हो । धानको बीउ राखिएको ब्याड नै डुबानमा परेपछि बीउ नै सखाप हुने अवस्थामा पुगेको महागढीमाई नपा १ का कृषक हक्मोदिन अंसारीले बताउनुभयो । बाढीले बिउ सखाप पारेपछि यो वर्ष रोपाई प्रभावित हुने अर्का कृषक पारस चौधरी बताउनुहुन्छ । बाढीले यस क्षेत्रको सयौंं बिगहा क्षेत्रफलमा लगाइएको धानको बीउमा क्षेति गरेपछि कृषकहरु चिन्तित बनेका छन ।

महागढीमाई नपा १० स्थित निमार्णाधिन ड्यामको निर्माण कार्य अधुरो नै रहेकोले बाढी किसानको खेतबारीतर्फ पस्ने गरेको छ । बारामा यस वर्ष हालसम्म २० प्रतिशतसम्म मात्र धानको रोपाई भएको छ । तटबन्ध निर्माणमा सरोकारवाला निकायले चासो नदेखाएको किसानहरुले बताएका छन ।

Leave a Reply