जनकपुरधाम । विश्वनाथ साह शुक्रबार दिउँसो २ बजे प्रादेशिक अस्पतालको आस्मिक कक्षको आरभी ९ एन्टी रेविज भ्याक्सिन० शाखामा पुगे । एन्टी रेविज भ्याक्सिनको तेश्रो डोज लिन ।तर, भ्याक्सिन सकिएको थियो । आइतबार भ्याक्सिन लिन आउन भन्दै उनलाई स्वास्थ्यकर्मीले फर्काए । जनकपुरधाम उपमहानगरपालिका वडा नं। १७ कनकपट्टी घर भएका ५६ वर्षीय विश्वनाथ यसअघि बुधबार पनि भ्याक्सिनका लागि आएका थिए । तर त्यसदिन पनि भ्याक्सिन छैन भनेर फर्काएको विश्वनाथको गुनासो छ ।उनलाई भदौ १४ गते खेत जाँदै गर्दा झाडीमा बसेका कुकुरले बायाँ खुट्टामा टोकेको थियो ।शुक्रबार प्रादेशिक अस्पतालबाट भ्याक्सिन नहुँदा फर्किने विश्वनाथ एक्ला थिएनन् । उनी भन्दा अघि भ्याक्सिन लिन आएका दर्जनौ बिरामी निराश भएर फर्किसकेका थिए ।‘केहीदिनदेखि भ्याक्सिन सकिएको छ । आज त उहाँ जस्तो एकसयभन्दा बढी बिरामीलाई हामीले फर्काउनु पर्यो’, एआरभी शाखाकी फोकलपर्सन कविता चौधरीले सुनाइन् ।प्रादेशिक अस्पतालमा एकसातादेखि एन्टी रेविज भ्याक्सिनको अभाव छ । प्रादेशिक अस्पतालमा दैनिक कुकुकर, स्याल, बिरालो, बाँदर टोकेका सयजनाको हाराहारीमा बिरामी आउने गरेका छन् । उनीहरुलाई यसरी नै फर्काउने गरिएको छ । कसैले निजीमा महँगो शुल्कमा किनेर लगाउँछन् भने कोही अर्को दिन आउँछन् । निजी फार्मेसीमा प्रति भ्याक्सिन ६ सयभन्दा बढी रुपैयाँमा किनेर लगाउने गरिएको बिरामीहरुको गुनासो छ ।एक व्यक्तिलाई एकसाता भित्र तीन डोज भ्याक्सिन लगाउने गरिन्छ । पछिल्लो समय भ्याक्सिनको खपत अनुसारको आपूर्ति नहुँदा बिरामीलाई फर्काउनु परेको छ । अस्पतालका प्रवक्ता डा। रामज्ञान यादवका अनुसार आर्थिक वर्ष २०७९–०८० को हालसम्म ३ हजार १८१ भ्याक्सिन बिरामीलाई लगाइएको छ ।अस्पतालका अकास्मिक शाखा इञ्चार्ज विरेन्द्र मण्डलका अनुसार ५० वटा भ्याक्सिन मात्र संचित हुँदादेखि नै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र जनकपुरबाट माग्ने गरिएको छ । तर, निरन्तर नपाएको उनको गुनासो छ ।आपूर्ति केन्द्रमा माग अनुसारको भ्याक्सिन करिब दुई महिनादेखि अभाव छ । जसको कारण मधेश प्रदेशका सरकारी अस्पतालहरुमा भ्याक्सिनका अभाव झेल्नु परेको छ । बिरामी सरकारी अस्पतालबाट फर्किन बाध्य छन् ।‘दुई महिनादेखि हामी माग अनुसारको भ्याक्सिन हामीले स्थाहरुलाई उपलब्ध गराउन सकेका छैनौं । संघ सरकारले न्युन संख्यामा मात्रै भ्याक्सिन उपलब्ध गराउँदा यस्तो परिस्थित आएको हो’, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका सूचना अधिकारी रामहृदय यादव सुनाउँछन् ।संघ सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वस्थ्य सेवा विभाग अन्तर्गतको स्वास्थ्य आपूर्ति शाखाले देशैभर एन्टी रेविज भ्याक्सिन उपलब्ध गराउने गरेको छ ।यसअघि आर्थिक वर्ष २०७७–०७८ मा प्रदेश सरकारले दिएको बजेटबाट भ्याक्सिन खरिद गर्दा पर्याप्त थियो । तर आर्थिक वर्ष २०७८–०७९ देखि भ्याक्सिन खरिद गर्न सरकारले बजेट कट्टा ग¥यो । जसको कारण स्वास्थ्य सेवा विभागको भर पर्दा अभाव झेल्नु परेको सूचना अधिकारी यादव बताउँछन् ।सूचना अधिकारी यादवका अनुसार मधेश प्रदेशमा मासिक चार हजार भन्दा बढी एन्टी रेविज भ्याक्सिनको आवश्यकता छ । तर, स्वास्थ्य सेवा विभागले थोरै थोरै मात्रामा उपलब्ध गराउने गरेको छ । जसले अभावको सामना गर्नु परेको छ ।‘स्वास्थ्य सेवा विभागको भर परेदेखि न्युन मात्रामा मात्र भ्याक्सिन उपलब्ध हुने गरेको छ । तर माग बढी छ । त्यसैले अभाव भइरहन्छ’, उनी भन्छन् ।स्वास्थ्य सेवा विभागको स्वास्थ्य आपूर्ति शाखाले केहीदिन प्रयोगशालामा परीक्षण गर्दा मात्र अभावको अवस्था रहेको जनाएको छ । अहिले सबैतिर भ्याक्सिन पठाइसकिएको शाखाका प्रमुख डा। सुरेन्द्र चौरसिया बताउँछन् ।‘यो बीचमा भ्याक्सिन आइसकेको थियो । त्यसको औषधि टेष्टको लागि प्रयोगशालामा पठाएका थियौं । टेस्ट भइसक्यो । हामी पठाउन सुरु गरिसकेका छौं । पुगिसकेको होला वा बाटोमा होला’, शाखा प्रमुख चौरसिया भन्छन् ।मधेश प्रदेशमा भ्याक्सिन लाग्ने प्रायः सबै सरकारी अस्पतालमा प्रदेश आपूर्ति केन्द्र मार्फतबाटै उपलब्ध गराउने गरिएको छ ।अनलाइनखबरबाट