नविन चौधरी
वीरगन्ज,पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाले स्थानीय तह अन्तर्गतका संस्थागत विद्यालयहरुको वर्गीकरण तथा शूल्क निर्धारणको लागि गठित समितिले विद्यालयको स्थलगत अवलोकन तथा निरीक्षण शुरु गरेको छ ।
विद्यालयहरुले मनोमानी रुपमा शूल्क उठाइरहेको अभिभावकहरुले गुनासो गरेपछि महानगरपालिकाले वर्गीकरण तथा शूल्क निर्धारण समिति गठन गरेको हो ।
नगरका विद्यालयको भौतिक संरचनादेखि शैक्षिक उपलब्धी लगायतका सबै क्षेत्रको आधारमा विद्यालयको वर्गीकरण गरेर वर्गअनुसारको शूल्क निर्धारण गरिने समितिका संयोजकसमेत रहेका मेयर राजेशमान सिंहले जानकारी दिनुभयो । उहाँले शिक्षा क्षेत्रको विकास बिना अन्य क्षेत्रको सुधार हुन नसक्ने भएकोले पहिलो चरणमा शिक्षाको सुधारका लागि विद्यालयहरुको वर्गीकरण र शूल्क निर्धारण गर्न आवश्यक रहेको र त्यही कुरालाई मध्यनजर गर्दैसमितिले काम थालेको उहाँले बताउनुभयो ।
संस्थागत विद्यालयहरुको वर्गीकरण गरेर शूल्क निर्धारण गरेपछि विद्यालयले मनोमानी रुपमा शूल्क लिन नपाउने र अभिभावकले गर्दै आएको गुनासो पनि सम्बोधन हुने मेयर सिंहको बिश्वास रहेको छ ।
त्यस्तै महानगरपालिकाका प्रमुख सिंहको संयोजकत्वमा गठित समितिले विद्यालयहरुको अवलोकन एवम् निरीक्षणपश्चात विद्यालयको चौतर्फी मूल्यांकनका आधारमा वर्गीकरण गर्ने, हाल ५२ वटा विद्यालयले स्वमुल्यांकन गरेको र पहिलो चरणमा ति विद्यालयको स्थलगत अवलोकन एवम् निरीक्षण गरेर विद्यालयले गरेको स्वमुल्यांकन गरिएको र मुल्यांकनका आधारमा विद्यालयको वर्गीकरण गरिने समितिका सदस्य एवम् महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अर्विन्दलाल कर्णले बताउनुभयो ।