पुष्पराज खतिवडा
मनहर्वा,जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई जिल्लामा नमुना मध्येको एक विद्यालयको रुपमा लिने गरिन्छ । ४ ओटा संकायमा पठनपाठन गर्ने जिल्लामै एक मात्र पहिलो सामुदायिक विद्यालयहरु हो यो । विज्ञान, बाणिज्य, शिक्षा र मानविकी गरी हाल ४ ओटा संकायमा पठनपाठन हुँदै आएको विद्यालयले जनाएको छ ।छिमेकी जिल्ला रौतहट, सर्लाही, चन्द्रनिगाहपुर, महोत्तरी लगायतका स्थानका विद्यार्थीहरु समेत विज्ञान संकाय अध्ययनको लागि यो विद्यालयमा आउने गरेका छन् ।
सोही संकायकै कारण बाहिरबाट आउने विद्यार्थीको संख्या यहाँ अधिक भएको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गंंगा बस्नेतले बताउनुभयो । पठनपाठनको गुणस्तर कायम गर्न विद्यालयले ध्यान दिएकै कारण मध्य तराईमै नमुना विद्यालयको रुपमा पहिचान बनाएको उहाँले बताउनुभयो ।
‘विज्ञान संकाय अध्ययन गर्न जिल्लाका विद्यार्थीहरु अन्यत्र जानुपर्ने बाध्यता थियो, अध्यक्ष बस्नेतले भन्नुभयो, विद्यालयले विज्ञान संकायमा पठनपाढन सुरु गरेपछि जिल्लाका विद्यार्थीहरु अन्यत्र जानु पर्ने बाध्यता हटेको छ ।’विज्ञान संकायमा अघिल्लो वर्षको शतप्रतिशत नतिजाले विद्यालयमा विद्यार्थीको चाप दिनप्रतिदिन बढीरहेको छ ।
बारा जिल्लामा ८ ओटा विद्यालयले विज्ञान संकायमा पठनपाठनको सम्बन्धन लिएको भए पनि नतिजा राम्रो दिन नसक्दा सिमरामा विद्यार्थीको चाप बढेको बस्नेत बताउँनुहुन्छ ।कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षाको सुरुवात गर्ने तयारीमा लागेको उहाँले बताउनुभयो । हाल विज्ञान संकायमा कक्षा १२ मा ३५ विद्यार्थी भर्ना भएका छन् ।
कक्षा १ देखि १२ सम्म २ हजार बढी विद्यार्थी अध्ययनरत भएको बस्नेतले बताउनुभयो । सिमित सिटमा कक्षा ११ मा भर्ना गरिरहेको संयोजक तथा सहायक प्रधानाध्यापक अच्युतदेव सिटौलाले जानकारी दिनुभयो ।भौतिक पूर्वाधारले सम्पन्न, उल्लेखनीय विद्यार्थी संख्या, शैक्षिक गुणस्तरमा सुधार, सिर्जनात्मक क्रियाकलाप, ईलाइब्रेरी, विज्ञान प्रयोगशाला लगायत सुविधा विद्यालयमा छन् । विद्यालयले पठनपाठनको गुणस्तरमा सुधार गरेपछि विद्यार्थीसँगै अभिभावको समेतको रोजाईमा विद्यालय परेको स्थानीय यशोदा कुँईकेलले बताउनुभयो ।बि.सं. २०१४ सालमा प्राथमिक तहमा स्थापना भएको सो विद्यालयले २०२८ सालमा निम्न माध्यमिक तहको पठनपाठन सुरु गरेको थियो । त्यसैगरी २०४३ सालमा माध्यमिक तहको कक्षा ९ र १० को पठनपाठन सुरु गरेको हो । विद्यालयले २०५४ सालमा उच्च मावि कक्षा संचालनको सम्बन्धन पाएको संयोजक सिटौलाले बताउनुभयो ।


















