वीरगन्ज,वीरगन्ज महानगरपालिकाले गण्डकदेखि शंकराचार्य गेटसम्मको क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन सूचना जारी गरेको छ ।सडक बिस्तारका लागि सो क्षेत्रमा अनधिकृत रुपमा निर्मित घर,टहरालगायतका संरचना हटाउन महानगरपालिकाले मंगलवार ३५ दिने सूचना जारी गरेको हो ।गण्डक चोकदेखि पावर हाउस, घण्टाघर, माईस्थान, महावीर स्थान, आदर्शनगर, अलखिया मठ, बिर्ता मन्दिर, सिगरेट फ्याक्ट्री गेट, नारायणी अस्पताल, वीरगन्ज भन्सार कार्यालय हुँदै दक्षिण शंकराचार्य गेटसम्म सडकको दायाँबायाँ अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सूचनामार्फत निर्देशन दिएको मेयर राजेशमान सिंहले जानकारी दिनुभयो ।सडकको दुबैतर्फ निर्माण भएका घरहरूको वीरगन्ज महानगरपालिकाबाट नक्सा स्वीकृत भए नभएको सबुत प्रमाण लिई सूचना प्रकाशित भएको ३५ दिनभित्र आगामी असोज २५ गतेसम्म महानगरपालिका कार्यालयको भवन निर्माण तथा इजाजत शाखामा उपस्थित हुन पनि पत्रमार्फत आग्रह गरिएको छ ।

सूचनामा सडकको जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिएको प्रमाणित भएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कारबाही गरिने समेत जानकारी गराइएको छ ।यसअघि महानगरपालिकाले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काएर खाली गराएको थियो भने अब सडक बिस्तारका लागि सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानको थालनी गरिएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिनुभयो ।

Leave a Reply