कृष्ण मोहन साह
सेढवा,पर्साको ग्रामीण क्षेत्रबाट प्रहरीकै सेटिङ्गमा राँगा, भैँसीको तस्करी भइरहेको पाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा भारतबाट नेपालतर्फ राँगा, भैँसीको तस्करी भईरहेको पाइएको हो ।
तस्करहरुले भारतको विभिन्न ठाउँबाट भैसी, राँगा किनेर नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको मिलिमतोमा रातिको समय पारेर बोर्डर पार गराउने गरेका छन । उनीहरुले पर्साको आस्वारी, पिडारीगुठी, पान्डेपुर, दसावता, जानकीटोला जस्ता गाउँमा ल्याएर राख्ने गरेका छन । राति १० बजेपछि त्यहाबाट जगरनाथपुरको पशु हाटबजारतर्फ पठाइने गरिएको छ ।
प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको दाबी गर्दै आएको भएपनि जिल्लाको सीमा नाकामा पर्ने जानकीटोला, आस्वारी, पिडारीगुठी, पान्डेपुर, दसावता, महादेवपट्टी नाकाहरुबाट तस्करी कार्य सुचारू रहेकोछ । जिल्लाको जानकीटोला, आस्वारी, पिडारीगुठी, पान्डेपुर नाकाबाट बुधबार र शनिवार दिनको १ सयदेखि ३ सय वटासम्म राँगा अबैध तरिकाले नेपाल भित्रिने र जगरनाथपुर बजारमा पुर्याउने गरिएको देखिएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको केही युनिटका प्रहरीले तस्करहरुसंग रकम लिएर स्कटिङ्ग समेत गर्ने गरेको रहस्य खुलेको छ । सीमा नाकादेखि जगरनाथपुरको हाट बजारसम्म प्रहरीकै निगरानी र स्कटिङ्गमा भैसी र राँगा पुर्याइने गरेको श्रोतको दाबी रहेको छ ।
प्रहरी चौकी पान्डेपुर, आस्वारी, पिडाडिगुठी, ईप्रका जानकीटोलासहितका इन्चार्जहरु र बिओपी भिखमपुर, पिडाडीगुठी र बिओपी महादेवपट्टीका ईन्चर्जहरुको मिलिमतोमा भैसी र राँगा बोर्डर पार गराइने र सोबापत चौकी इन्चार्ज र सशस्त्र प्रहरीलाई प्रतिभैसी १ हजार र प्रतिराँगा ४५० दिने गरिएको नाम नछाप्ने सर्तमा एक व्यापारी जानकारी दिए ।
नाकाबाट भैंसी राँगाको लाईन पाउनेमा सगिर, बहिरा, नामका महादेव यादव र ओसिम अन्सारी नाम गरेको व्यापारीहरु रहेका छन । जानकीटोला नाकाबाट ब्रोइलर कुखुराको पनि तस्करी चलिरहेको छ । जानकीटोला नाका बाट शेषनाथ नाम गरेका तस्करले कुखुराको लाईन चलाइरहेको स्थानीयहरुले बताएका छन ।
भारतीय खुकुरा अवैध रुपमा तस्करी बढेपछि स्थानीय कुखुरापालक किसानहरु मारमा परेको बताइएको छ । त्यस्तै जानकीटोला नाकाबाट किराना आईटम, कपडा, हड्वेयर, मोटर पार्ट्सलगायत विभिन्न किसिमका सामानको तस्करी भइरहेको स्थानीयहरुले बताएका छन ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणको लागि निगरानी बढाउन प्रहरीलाई निर्देशन दिए पनि मातहतमा रहेका केही इन्चार्जहरुले पैसाको लोभमा परि अटेरी गर्दै आएका छन । प्रहरी उपरीक्षक बस्नेतले तस्करीको विषयमा आफूलाई जानकारी नभएको भन्दै उक्त क्षेत्रका चौकी इन्चार्जहरुलाई तस्करी रोक्न कडा निर्देशन दिएको र तस्करीमा संलग्न भएको भेटिए प्रहरीमाथि पनि कारबाही हुने बताउनुभयो ।