कलैया,मानमत–मटिअर्वा सडक खण्डको बारा सदरमुकाम कलैयास्थित करिब ३ किलोमिटर कालोपत्रे काम अधुरो रहँदा स्थानीय र उक्त सडक हुदै आवतजावत गर्ने सर्वसाधारणले वर्षौँदेखि सास्ति खेप्दै आएका छन ।ठेकेदार कम्पनीको लापरबाहीका कारण भारत सरकारको आर्थिक सहयोगमा ७ वर्षअघि निर्माण शुरु भएको सो सडकको काम यस वर्षको वर्षायाम अघि पूरा नहुने देखिएको छ ।हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका इन्जिनियर धर्मेन्द्रकुमार दासले ठेकेदार कम्पनी ओमसाई एन्ड कम्पनी-सप्तकोशी जलाधार ज्वाइन्ट भेन्चरले जनशक्ति, उपकरण र आर्थिक स्रोतको अभाव देखाउँदै काममा ढिलाइ गरेको बताउनुभयो ।

“ठेकेदारका प्रतिनिधिसँग कुरा गर्दा उनीहरूले जनशक्ति, उपकरण र पैसाको कमी भएको बारम्बार बताउदैआएका छन्,” दासले भन्नुभयो, “ठेकेदार कम्पनीको लापरबाहीले निर्माण कार्य अघि बढ्न सकेको छैन ।”सडक कार्यालयसंग २०७८ पुस २७ मा संझौता गरेर २२ करोड ३१ लाख ८६ हजार ३१८ रुपैयाँको ठेक्का साकार गरेको निर्माण कम्पनीले २०७९ माघ १ मा सडक निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने थियो । तर, पहिलो पटक तोकिएको समयसीमामा काम नसकिएपछि दोस्रो पटक थपिएको म्याद २०८१ फागुन २९ सम्म पनि ठेकेदारले काम पूरा गर्न सकेको छैन । हालसम्म सडक छेउको नाला निर्माणको काम मात्र भएको छ ।
सडक खण्डअन्तर्गत कलैया उपमहानगरपालिकाको संस्कार एफएमदेखि दुर्गा स्कुलसम्म ३ किलोमिटर, शीतलपुरमा ४८० मिटर र मटिअर्वामा १८७ मिटर कालोपत्रे गर्ने कार्य बाँकी छ । सडक कार्यालयका अनुसार योजनाको हालसम्मको प्रगति १७ प्रतिशत मात्र हो ।
इन्जिनियर दासका अनुसार, ठेकेदारले सडकको मुख्य कामभन्दा नाला निर्माणमा मात्र ध्यान दिएको छ । कार्यालयले ठेकेदारको ५ करोड ४८ लाख ग्यारेन्टी रकम र १ करोड ८८ लाख मोबिलाइजेसन रकम फिर्ता लिइसकेको छ । यति हुँदा पनि ठेकेदारले काममा गति दिन नसकेकोमा स्थानीय आक्रोशित छन् ।
विगतमा मुआब्जा विवाद र साइट खाली नहुँदा चार वर्षसम्म काम रोकिएको सो सडकमा हाल मुआब्जा विवाद समाधान भएर साइट खाली भएपछि ठेकेदारले दुई महिनाअघि भरत चोकदेखि संस्कार एफएमसम्मको खण्डमा सुरु गरेको काम अहिले फेरि रोकेको छ ।ठेकेदार कम्पनीको लापरबाहीले गर्दा स्थानीयलाई आवागमनमा ठूलो असुविधा भएको छ । सडकमा बनेका ठूला खाल्डाखुल्डी तथा हिउदयाममा सडकबाट उड्ने धुलोर वर्षयामको हिलोका कारण सडकमा सर्वसाधारणको यात्रा कष्टकर बन्दैआएको हो ।स्थानीयले सडक निर्माणका लागि पटक–पटक प्रदर्शन गरेका छन् । सङ्घीय संसदमा समेत यो विषयमा प्रश्न उठेको छ । २ महीनाअघि कलैयामा आएको संसदीय अनुगमन टोली आन्दोलनरत स्थानीयसंग तत्काल निर्माण कार्य शुरु गराइने र वर्षअघि नै सडक निर्माण पूरा हुने आश्वासन दिएर फर्किएको भएपनि निर्माण कार्य अघि बढ्न सकेको छैन ।



















