बरियारपुर,बाराको कलैयामा मंगलबार बिहान दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किदा दुबै मोटरसाईकलमा सवार पाँच जना घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । कलैया–वीरगन्ज सडक खण्ड अन्र्तगत कलैया उपमहानगरपालिका वडा नम्बर ५ बालमन्दिर नजिकै तीव्र गतिमा रहेका दुबै मोटरसाइकल आपसमा ठोक्किदा ५ जना घाइते भएका हुन् । कलैयाबाट वीरगन्जतर्फ आउदै गरेको बा १७ प ९९२३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जादै गरेको प्रदेश ०२–०२१ प ९७९५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाईते हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर १८ मोतिसर बस्ने ३० वर्षिय पवन गुप्ता, उनकी श्रीमती २६ वर्षिया निभा पटेल, फेटा गाउँपालिका वडा नम्बर १ भलुही बस्ने १९ वर्षिय प्रदिपकुमार दास, भलुहीकै २० वर्षिय रोहितकुमार दास र १९ वर्षिय रामविनय दास रहेका छन् ।

घाइतेमध्ये गुप्ता दम्पति तथा अर्को मोटरसाइकलका चालक प्रदीपको अवस्था गम्भीर रहेको र उनीहरुको वीरगन्जस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रोहित र रामविनयको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका दुबै मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here