रौतहट,रौतहटको दुई पालिकामा जङ्गली हात्तीको बथानले करिब १० भन्दा बढी घर भत्काएको छ । जङ्गली हात्तीको छुट्टाछुट्टै समूहले चन्द्रपुर नगरपालिकामा ८ र फतुवा विजयपुर नगरपालिकामा ११ मा घर भत्काएको हो ।हात्तीले चन्द्रपुर नगरपालिका ३ गैडाटारमा ७ र वडा नम्बर २ को जुडिबेलामा एक घर भत्काएको छ । गैडाटारका स्थानीय नवीन तामाङका अनुसार सन्तबहादुर रुम्बा, मीना राई, छेनाम सिंह लोप्चन, बली माया लोप्तन, बोम्जन साइँला, सुबास ठोकर, साइँला गोलेको घर जङ्गली हात्तीले भत्काएको छ ।

यसैगरी जुडिबेलामा रहेको एक घर भत्काएको छ भने कालापानी सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा निर्माण पार्क र पानी घट्टमा पनि हात्तिले क्षति पुर्याएको उहाँले बताउनुभयो ।
चन्द्रपुर नगरपालिका अन्तर्गत वडा नम्बर २ को जुडिबेला, ३ गैडाटार, वडा नम्बर ४ कप्तानटोल र जंगलटोल क्षेत्रमा हात्तीले घर, टहरा, गोठ र धानको भकारी भत्काउनुका साथै किसानको बालीमा समेत क्षती पुर्याउँदै आएपछि यहाँका बासिन्दा चिन्तित भएका छन् ।
फतुवा विजयपुर नगरपालिका वडा नम्बर ११ भैसही र बुटवा बस्तीमा हात्तीले ४ घर हात्तीले भत्काएको छ । स्थानीय विजय चौधरीका अनुसार उदय चौधरी, मिलन मगर, हरिशरण मैनालीलगायत स्थानीयको घरमा हात्तीले क्षति पु¥याएको छ । विगत केही महिनादेखि बाराको कोल्हबी नगरपालिका क्षेत्रमा उपद्रोह मच्चाउदै आएको यमगज’ नामको सो हात्तीले पछिल्ला दिनमा फतुवा विजयपुर नगरपालिकामा उपद्रोह गर्दैआएको छ ।

दिउसो जंगलमा लुकेर बस्ने हात्ती बेलुका र बिहानको समयमा बस्ती नजिकमा आउने र स्थानीयको खेतबारी र घरभित्रै पसेर भकारीमा राखेको अन्न रखेतबारीको केरा खाएर क्षति गर्ने गरेको किसानको गुनासो छ ।गाउँ नजिक सामुदायिक वन रहेकाले त्यहीँबाट हात्ती प्रवेश गरेको हुन सक्ने भन्दै सतर्कता अपनाउन डिभिजन वन कार्यालय रौतहटले आग्रह गरेको छ । जङ्गली हात्ती हिँड्ने सम्भावित बाटोमा यात्रा गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

Leave a Reply