गोकुल घोरसाइने
निजगढ,बाघ पर्नेक्रम बढेपछि बाराका संरक्षणकर्मीहरु चिन्तित बन्नथालेका छन ।पछिल्लो दुई साताभित्र जिल्लाको वन क्षेत्रमा २ वटा बाघ र एउटा चितुवा मरेको अवस्थामा फेला परेपछि संरक्षणकर्मीहरुको चिन्ता बढेको हो ।

डिभिजन वन कार्यालय बाराका अनुसार पछिल्लो पटक बाराको कोल्हबी नगरपालिका– २ स्थित तामागढी साझेदारी वन क्षेत्रको जंगलमा मंगलवार एउटा पोथी बाघ मृत अवस्थामा फेला परेको हो । वन सुरक्षाकर्मीको टोलीले बस्ति नजिकैको जंगलमा परेर कुहिन लागेको अवस्थामा बाघ फेला पारेका थिए । त्यसैगरी फागुन महिना २२ गते निजगढ नगरपालिका ४ स्थित कछडिया सामुदायिक वन क्षेत्रको जंगलमा पनि अर्को एउटा बाघ मृत फेला परेको थियो । घाँस दाउरा गर्न गएका स्थानीयले बाघ मरेको देखेपछि वन सुरक्षाकर्मीलाई खबर गराएका थिए । उक्त बाघ पनि सढेर गन्हाएको अवस्थामा फेला परेको थियो । त्यसैगरी गत माघ महिनामा पनि निजगढ नपा ४ कै बाघभैरव सामुदायिक वन क्षेत्रको जंगलमा एउटा चितुवा मृत फेला परेको थियो ।

‘लगातारजसो मृत अवस्थामा बाघ फेला परेका छन, डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले भन्नुभयो, दुर्लभ वन्यजन्तु यसरी मर्नु संरक्षणकर्मीको लागि चुनौतिको विषय हो ।’ मृत्युको कारण पत्ता लगाएर सोही अनुसार संरक्षण रणनीति बनाउनु जरुरी रहेको उहाँको भनाई छ ।
बाघको गतिविधि (आतङ्क) बढेको भनिएको बाराका विभिन्न बस्ति नजिकका जंगलमा मरेको अवस्थामा बाघ फेला पर्नुले आशंका जन्माएको छ । यसबाट कतै घरपालुवा चौपाय मारेपछि रुष्ट बनेका स्थानीयले पो बाघ मारेका हुन कि भन्ने अनुमान गर्न थालिएको छ ।
जिल्लाको निजगढ, कोल्हबी नगरपालिकको वन क्षेत्र नजिकका बस्तिहरुमा र जीतपुरसिमरा नगरपालिकाको टाँगियाबस्तिमा केही समययता बाघको गतिविधि बढेको हो । निजगढ ११ को रतनपुरमा पछिल्लो २÷३ महिनायता बाघको आक्रमणबाट ३ दर्जनभन्दा बढी खसी बाख्रा र चौपाय मारेका छज भने कोल्हबी र जीतपुरसिमराको टाँगियाबस्तिमा पनि चरिचरणको लागि स्थानीयले जंगलमा लगेका चौपाय बाघले मार्दैआएको छ । स्थानीयमा बाघले सर्वसाधारणमाथि आक्रमण गर्नसक्ने त्राससमेत बढेको पाइन्छ । निजगढको रतनपुरमा मंगलवार ४५ वर्षीय दिलकुमारी पुलामी मगरलाई मंगलवार आक्रमण गरेर घाइते पारेपछि स्थानीयको त्रास बढेको हो । निजगढ ११ स्थित तपोभूमि सामुदायिक वनमा बाख्रा चराउन गएको बेला मगरलाई बाघले आक्रमण गरेको थियो ।

प्रकोप तीव्र देखिएको भनिएका बस्ति नजिकैको जंगलमा बाघहरु मृत फेला परेकाले पनि यो आशंकालाई बल पु¥याएको छ । गत फागुनमा मृत फेला परेको बाघ रतनपुरबाट पूर्वतर्फ बकैया खोला नजिकको जंगलमा भेटिएको हो । त्यसैगरी कोल्हबीमा मृत फेला परेको बाघको टाउकोमा गहिरो चोटसमेत देखिएकोले गोली प्रहार भएको हुनसक्ने वन कर्मचारीहरुको अनुमान छ । सो बाघको दाह, नग्रा निकालिएको र पुच्छरसमेत काटिएको बताइएको छ ।टाउकोमा चोट देखिदैमा गोली हानिएको भन्न नसकिने वन कार्यालय प्रमुख सिंहको भनाई छ । तर बस्तिमा बाघको गतिविधि बढ्नु र बाघ पनि मर्ने क्रम बढनु संयोग मात्रै होइन कि भन्ने प्रश्न पनि उठेको उहाँले बताउनुभयो । ‘स्थानीयले विष प्रयोग वा गोली नै हानेर पनि मारेका हुनसक्छन, सिंहले भन्नुभयो, तर परीक्षण रिपोर्ट आएपछि मात्रै मृत्युको खास कारण पत्ता लाग्नेछ ।’
उहाँले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाण्डौंमा परीक्षणको लागि नमूना पठाइएको जानकारी दिनुभयो ।

Leave a Reply