पथलैया,श्रीकृष्ण जन्माष्टमीको अवसरमा पथलैयामा सांस्कृतिक कार्यक्रम गरि भव्यताका साथ मनाइएको छ ।
जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित पथलैयाका युवाहरुले यस वर्षको श्रीकृष्ण जन्माष्ठमी भव्य सांस्कृतिक कार्यक्रम गरेर मनाएका हुन् । प्रत्येक वर्ष आयोजना हुँदै आएको श्री कृष्ण जात्रा कोरोना कालको समयमा २ वर्ष आयोजना नभए पनि यस वर्ष भव्यताका साथ सांस्कृतिक कार्यक्रम गरि मनाइएको आयोजक द योङ्ग नितीले जनाएको छ ।
कार्यक्रम नयाँ गोरेटो पथलैया, दिव्य ज्योति क्लब, श्रीकृष्ण युवा क्लब पथलैया, युवा जागरण क्लब, लायन्स क्लब युथ अफ सिमराको सहयोगमा आयाजनामा यस वर्ष सांस्कृतिक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुले प्रस्तुति दिएको आयोजक मध्येको एक लायन्स् क्लब अफ सिमराका अध्यक्ष दिवाकर भण्डारीले बताउनुभयो । कार्यक्रममा मुख्य आकर्षणको रुपमा राष्ट्रिय कलाकारहरु र्यापर मिस्टर डि.(कल्याण आले), लोकप्रिय गायिका शोभा त्रिपाठी, विक्ड भिक्टीम नेपाल ब्याण्ड, द पनाम ब्याण्ड, द योङ्ग नीति ब्याण्डका साथै आकर्षक नृत्य र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको भण्डारीले बताउनुभयो ।
श्रीकृष्ण मन्दिरको प्राङ्गण पथलैयामा गरिएको सांस्कृतिक कार्यक्रममा पथलैयाका साथै सिमरा, जीतपुर, निजगढ, अम्लेखगंज, डुमरवाना आसपासका हजारौंको उल्लेख्य सहभागीता रहेको थियो ।
यसैबीच निजगढ ६ स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा शुक्रवार राति १२ बजे श्रीकृष्ण प्राकट्य महत्सवको आयोजना गरिएको छ । दिउसोबाट भजनकिर्तनसहित शुरु भएको महोत्सव अन्तरगत राति १२ बजे प्राकट्य महोत्सवको आयोजना गरिएको मन्दिर संचालक समितिका कोषाध्यक्ष एंव निजगढ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिनाले जानकारी दिनुभयो ।
महोत्सवमा निजगढ नगरपालिकाका प्रमुख सुरत पुरी उपप्रमुुख सोममाया थिङ्गले श्रीकृष्णको महिमा बारेमा बोल्नुभएको थियो । श्रीकृष्ण जन्माष्टमीको अवसरमा मन्दिरमा हरेक वर्ष भव्य रुपमा प्राट्य महोत्सव मनाउने गरिन्छ । त्यस्तै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमराले जन्माष्टमीको उपलक्ष्यमा चैतन्य झाँकी सहितको सास्कृतिक नृत्य र प्रवचन कार्यक्रम सम्पन्न गरेको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमराकी प्रभारी ब्रह्माकुमारी मधु दिदिको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि जितपुरसिमरा उपमाहानगरपालिकाका मेयर राजन पौडेल, विशिष्ट अतिथि उपप्रमुख भोलाप्रसाद अधिकारी, समाजसेवी मदनबहादुर क्षेत्री, डम्मरमणि लिम्बु लगायले श्रीकृष्णको महिमा बारे बोल्नुभएको थियो ।
यसैबीच ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र जीतपुर बाराले सत्युगी दुनियाको चैतन्य झाँकी तथा प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।
श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा पारेर केन्द्रले यस कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताले शान्तिको सन्देश फैलाउने केन्द्रलाई वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
यसैगरी कार्यक्रममा ब्रहमकुमारी राजयोग सेवा केन्द्रका ब्रह्मकुमार गोकुलले श्रीकृष्णको अर्थका साथै आत्मज्ञानले मानिसमा आउने परिवर्तनको बारेमा सबैलाई जानकारी दिनुभएको थियो । ब्रहमकुमारी राजयोग उप सेवा केन्द्र जीतपुरका सञ्चालिका ब्रह्मकुमारी रेनु दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, स्थानीय समाजसेवी देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य नुरुल्लाह अंसारी, महिला सदस्यद्वय सीता उप्रेती, ललिता पासवान, महिला सरोकार मंञ्चका अध्यक्ष देवी सापकोटा, गढीमाई साझेदारी बन व्यवस्थापन समिति पथलैयाका अध्यक्ष गणेशजीप्रसाद साह, शिवगौरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनिल गुप्ता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहिद स्मारक एकेडेमीबाट आएका बालबालिकाहरुले नृत्य प्रस्तुत गर्दै अतिथिहरुलाई स्वागत गरेका थिए भने सभाहलमा ओम् शान्तिप्रति आस्था राख्नेहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा ब्रहमकुमार हरिन्द्रले सहजीकरण गर्नुभएको थियो ।
वैदिक सनातन धर्मावलम्बीले हिजो ‘श्रीकृष्ण जन्माष्टमी’ मनाएका हुन । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले सो रातलाई ‘मोहरात्रि’ को रुपमा मनाइन्छ ।