सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडकखण्डमा बिहीबार बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाले ज्यान गुमाएका हुन्।
प्रहरीका अनुसार चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना.१ घ.५५३ नम्बरको ट्रक र सिरहाबाट चौहर्वातर्फ आउँदै गरेको स.९ प.७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकलमा सवार पहिचान नखुलेका दुई जना पुरुष गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्याइए पनि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।
दुर्घटनापछि ट्रक चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई नियन्त्रणमा लिने प्रक्रिया अघि बढाइएको छ।
यसैबीच, मृतकको सनाखत तथा आफन्तको खोजी गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

















