निजगढ,जिल्ला प्रशासन कार्यालय बाराको टोलीले आइतबार निजगढ नगरपालिकाका पसल तथा हाटबजारको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एंव सहायक प्रमुख अधिकारी मुरारी कार्कीको नेतृत्वमा रहेको टोलीले निजगढका १ दर्जनभन्दा बढी खाद्यान्न, किराना पसल र होटलहरुमा अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा टोलीले बिक्रीको लागि राखिएको म्याद गुज्रेका खाद्यान्न र अन्य उपभोग्य सामग्री जफत गरेको थियो । विभिन्न पसलबाट टोलीले करिव ५० हजार रकम बराबरको म्याद गुज्रेका सामान जफत गरेको बताइएको छ । जफत गरिएका सामान सुरक्षित स्थानमा लगेर नष्ट गरिने प्रशासकीय अधिकृत कार्कीले बताउनुभयो । टोलीले पसलमा मूल्य सूची, राखे नराखेकोबारे अनुगमन गर्नुको साथै व्यवसाय दर्ता प्रमाण पत्र र सामान भण्डारण स्थलको पनि निरीक्षण गरेको थियो । नियमअनुसार व्यवसाय संचालन नगर्ने व्यवसायीहरुलाई सुझाब दिएर छाडिएको प्रशासकीय अधिकृत कार्कीले जानकारी दिनुभयो । ‘निर्देशनअनुसार गरेको नपाइए अर्को पटक कारबाही गरिने छ ।’ उहाँले भन्नुभयो ।

टोलीमा घरेलु तथा साना उद्योग कार्यालय बाराका उद्योग अधिकृत अरविन्दप्रसाद यादब, निजगढ नगरपालिकाका अधिकृत पदमराज तिमल्सिना, जिल्ला प्रशासन कार्यालय बाराका नायब सुब्बा रत्नबहादुर स्याङ्गतान, निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपाल, इलाका प्रहरी कार्यालयका निरीक्षक शंकरप्रसाद चौधरी, बाणिज्य संघका सदस्य दिपेनद्र श्रेष्ठ, सुभाष चौलागागाईलगायत संचारकर्मी र सुरक्षाकर्मीहरुको पनि सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here