वीरगञ्ज,अनलाइनमार्फत ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेका चिनियाँ गिरोहलाई आइतवार सार्वजनिक गरेको छ ।प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी अनलाइनबाट ठगी गर्ने गिरोहका तीनजनालाई सार्वजनिक गरेको हो ।

प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेहरुमा चीनको हुनान सहरका ३३ वर्षका लिउ गुइ कै, हुबेई चीनका २६ वर्षीय वाङ बोहन र सोही ठाउँका ३६ वर्षका छियाङ छियाव रहेका छन् ।प्रहरीको प्रारम्भिक अनुसन्धानमा चिनियाँ नागरिकहरुले नेपाल, भारत र पाकिस्तानमा अनलाइनबाट ठगी धन्दा चलाउदैआएको खुलेको छ ।

चिनियाँ नागरिकहरुको सो गिरोहले नेपाली तथा विदेशी नागरिकहरुलाई अनलाइन लोटरी, अनलाइन ‘सपिङ’ जस्ता विभिन्न प्रकारका प्रलोभनमा पारी ठगी गरेको सूचना प्रहरीमा आएको थियो । उक्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले शनिवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बस्ने नन्दु पटेलको घरमा छापामारी उनीहरुलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।

अनुसन्धानको क्रममा भाषाको समस्या देखिएकोले दोभासे बोलाएर घटनाको अनुसन्धान प्रक्रिया थप अगाडि बढाउने तयारी गरिएको प्रहरीले जनाएको छ । चिनीयाहरुले प्रयोग गरेको भाषा बुझन् नसकिएकाले काठमाडौंबाट चाइनीज भाषा बुझ्नेलाई बोलाएर बाँकी अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी प्रहरीको छ ।

प्रहरीले उनीहरुको साथबाट ठूलो परिमाणमा विद्युतीय उपकरणहरु, डेक्सटप कम्प्युटर, ल्यापटप, मोबाईल फोन, सिमकार्डहरू तथा विभिन्न देशका मुद्राहरु समेत बरामद गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताउनुभयो । प्रहरीका अनुसार पक्राउ परेकाहरुको साथबाट कम्प्युटर डेक्सटप सिपियू १ सय २० थान, मनिटर ११८ थान, ३ थान पासपोर्ट, मोबाईल ३५ थान, भारतीय जिवो सिमकार्ड १३ थान, ल्यापटप ४ थान, प्रिन्टर १ थान बरामद गरिएको छ ।
यसैगरी विभिन्न बैंकहरूका एटिएम कार्डहरु ३ थान, किबोर्ड २३ थान, इन्टरनेट स्विच ५ थान, वाइफाइ राउटर २ थान, मिनी इन्र्भटर २ थान बरामद भएको छ ।

साथै भारतीय नम्बर बिआर ०१ सिएक्स ५७९२ नम्बरको आई २० गाडी, प्र.२–०३–०११ प १३६७ नम्बरको मोटरसाइकल १ थान बरामद भएको छ । यसैगरी मलेशियन ३७ रिंगिट, नेपाली ५०० दरका नोट ८६ पिस गरी ४३ हजार र कम्बोडियन ३५०० रुपैँया समेत पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply