बारा,
पचरौता नगरपालिकाको नवौं नगरसभा शुक्रवार सम्पन्न भएको छ ।
लामो समयको अन्यौलतापछि सम्पन्न भएको नगरसभाले चालू आर्थिक वर्ष ०७९÷०८० को लागि नगर प्रमुख जलान्धर सिंहले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सहित झण्डै ६३ करोडको बजेट पनि पारित गरेको छ ।

निर्धारित समयमा नगर सभा नहुँदा नगरपालिकाको प्रशासनिक कार्य प्रभावित हुन पुगेको थियो भने कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीलाई तलब, भत्ता उपलब्ध गराउन सकिएको थिएन् । नगरसभा सम्पन्न भएसंगै अब कर्मचारी र शिक्षकको तलब भत्तासहित विकास निर्माणका काम पनि अघि बढ्ने नगर प्रमुख सिंहले बताउनुभयो ।

नगर प्रमुख सिंहले नगरसभाबाट नगरपालिकालाई करमुक्त क्षेत्र बनाइने घोषणा गर्नुभएको छ । यसबाहेक कृषकले जडान गरेका कृषि मिटरको बक्यौता रकम नगरपालिकाले बेहोर्र्ने, गहुँको बिउबिजनमा अनुदान, नगरपालिका क्षेत्रबाट एमबिबिएस अध्ययनरत छात्रछात्रालाई १० लाख छात्रवृत्ति, सुत्केरी महिलालाई एक हजार पोषण भत्ता, नगर अस्पतामा जेष्ठ नागरिकको औषधोपचारमा ५० प्रतिशत छुट, नगरबासीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेलगायत शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम प्रस्तुत भएको नगरप्रमुख सिंहको भनाइ छ ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई काम गर्न नदिनको लागि षडयन्त्र भएको र त्यसलाई चिर्दै नगरसभा सम्पन्न गरिएको भन्दै नगर प्रमुख सिंहले अब पचरौतामा विकासमा केन्द्रीत कार्यक्रम हुने बताउनुभएको छ ।

नगर सभामा उपप्रमुख नसिमा खातुन, निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरी साहसहित जनप्रतिनिधिको उपस्थिति रहेको थियो । नगर सभामा वडा नं. ५ का अध्यक्ष लक्ष्मी यादवले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने वडा नं. १ का अध्यक्ष विनय सिंहलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply