नरेश गुप्ता,राष्ट्रिय भूमि आयोग बाराका अध्यक्ष छविलाल उप्रेतीले स्थानीय तहसंग सुकुम्बासीको लगत चाडै संकलन गर्न आग्रह गर्नुभएको छ ।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ मा राष्ट्रिय भूमि आयोग बाराले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीले भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्ने व्यक्तिको पहिचान गरि स्थानीय तहले लगत संकलन गरि तत्काल आयोगमा पठाउन आग्रह गर्नुभएको छ । अध्यक्ष उप्रेतीले बारा जिल्लामा हालसम्म २७ वटा आयोग बनेको तर सुकुम्बासीको समस्या भने समाधान हुन नसकेको जानकारी दिनुभयो ।

सो छलफल तथा अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय भूमि आयोग बाराका विज्ञ सद्स्य एवं प्रमुख नापी अधिकृत उमेश कुमारले भूमि आयोगको गठन, स्थानीय तह र आयोगको जिम्मेवारी तथा प्रमुखको गतिविधि, भूमि सम्बन्धि ऐन २०२१ को आठौं संशोधनमा भएको ब्यवस्था, जिल्ला समितिको काम, कर्तव्य, अधिकार र कार्य योजना, लगत संकलन सम्बन्धि कार्यविधिको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

राष्ट्रिय भूमि आयोगको निर्देशन अनुसार वडा कार्यालयले वास्तविक भूमिहिन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासको लगत संकलन गरि नगरपालिकामा पठाउने र त्यसपछि नगर प्रमुखले अध्ययन गरेर भूमि आयोगमा पठाएपछि सुकुम्बासीको हकमा लालपुर्जा वितरण गरिने जानकारी गराइएको थियो ।

महागढीमाई नगर प्रमुख उपेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्ताफा, भुमी आयोगका सद्स्य कलावती पासवान, मेहिलाल दास थारु, वडा अध्यक्ष, वडा सचिव, प्राविधिक र अमिन लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply