वीरगन्ज,वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा शनिवार भएको बिबिएको प्रवेश परीक्षामा अनियमितता भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ठाकुरराम ईकाइ कमिटीले आरोप लगाएको छ ।

शनिवार बिहान ८ बजेदेखि सुरु भएको प्रवेश परीक्षाको प्रश्न पत्र परीक्षा अगावै बाहिरिएको र परीक्षामा शिक्षक र विद्यार्थीको मिलेमतो भएको अनेरास्ववियुको आरोप छ ।
अनेरास्ववियुका ईकाई कमिटी अध्यक्ष आशिफ अहमदले जारी गरेको प्रेस विज्ञप्तिमा प्रश्न पत्र बाह्यिाएर इतिहास बोकेको क्याम्पसको छविमा दाग लगाउने क्रियाकलाप गर्नेलाई कानुनी दायराभित्र ल्याउन पनि माग गरिएको छ । शनिवार भएको प्रवेश परीक्षा रद्द गरेर पुनः परीक्षा लिने व्यवस्था मिलाउन पनि विज्ञप्तिमार्फत अनेरास्ववियुले माग गरेको छ ।
ठाकुरराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. उमेश चौरसियाले भने केही विद्यार्थीहरुले चिट चोर्न नपाएपछि संगठनले आरोप लगाएको प्रतिक्रिया दिनुभयो । परीक्षामा कुनै किसिमको अनियमितता नभएको दावी गर्दै आफुले चाहेअनुसारको गतिविधि नभएपछि प्रश्न पत्र बाहिरिएको भनेर अफवाह मात्रै फैलाएको प्रमुख डा. चौरसियाको भनाइ छ ।
क्याम्पसमा विद्यार्थी संगठनहरुले विरोध र तालाबन्दी जस्ता क्रियाकलाप गर्नु कुनै नौलो कुरा नभएको बताउँदै यस्ता गतिविधिले विद्यार्थीहरु अध्ययन र क्याम्पसको सुधारभन्दा पनि राजनीतिको लागि एजेण्डा बनाउने गरेको दाबी गर्नुभयो ।



















