निजगढ,निजगढ नगरपालिका वडा नम्बर १० को टिकुली खानेपानी आयोजनाको मोटर र पानी तान्ने पम्प बिग्रिएपछि आयोजना अलपत्र परेको छ ।करिव १ करोड २६ लाखका लागतमा निर्माण गरिएको खानेपानी आयोजना संचालनमा नआउदै बिग्रिएपछि उपभोक्ताहरुको शुद्ध पिउने पानी प्रयोग गर्ने आशा पुरा नहुने भएको छ ।निर्माण कम्पनी सृजनशील कन्ट्रक्शन प्रालि काठमाण्डौंको लापरबाहीले उपभोक्ता संस्थालाई आयोजना हस्तान्तरण गर्नुअघि नै आयोजनाको पम्प र मोटर बिग्रिएको छ । निर्माण कम्पनीले आयोजनाको सबै कार्य पुरा गरेर पनि बोरिङ्गको पाइपमा कम्प्रेशर नगरेकाले पानीसंगै आएको बालुवा र हिलो माटो भरिएर उपकरण बिग्रिएको उपभोक्ता संस्थाकी अध्यक्ष शर्मिला केसीले बताउनुभयो । उहाँले निजगढ नगरपालिकाले निर्माण कम्पनीलाई बोलाएर आयोजना संचालनको पहल गर्न पनि माग गर्नुभएको छ ।संघीय सरकारको १ करोड १६ लाख र निजगढ नगरपालिकाको १० लाख आर्थिक सहयोगमा टिकुली खोलाको पानी सतह ट्याङ्कीमार्फत ल्याएर लाल गाउँका करिव ४ सय घरधुरी उपभोक्ताहरुलाई शुद्ध पिउने पानी सुविधा उपलब्ध गराउन आयोजना संचालनमा ल्याइएको थियो ।आयोजना अन्तर्गत बोरिङ्गसहित ४ लाख ५० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरेर ७ किलो ६ सय मिटर पाइप लाइनसमेत विस्तार भएको छ ।अध्यक्ष केसीले लाल बजारमा यसअघि मधेस प्रदेश सरकारको सहयोगमा निर्माण भएको लाल खोला खानेपानी आयोजना पनि अनुपयुक्त स्थानमा रहेकोले पुरानो लाल गाउँका बासिन्दाहरु शुद्ध पिउने पानी सुविधाबाट बन्चित हुदै आएको बताउनुभयो ।

Leave a Reply